युएईले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा घरेलु टोली नेपालसमक्ष सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन जोडेको हो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले ।
राम्रो सुरुवात गरेको युएईविरुद्ध नेपालका तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ विकेट दिलाएका थिए । चौथो ओभरको चौथो बलमा सोमपालले आक्रामक इनिङ खेलेका कप्तान मुहम्मद वासिमलाई २६ रनमा क्याच आउट गराएका थिए । त्यसअघि चौथो ओभरको पहिलो बलमा खालिद शाहलाई उनले नै ३ रनमा रन आउट गरेका थिए ।
नेपालका स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेटमा असिफ खानलाई १३ रनमा आउट गरे भने युवा अलराउण्डर कुशल मल्लले अलिसान शारफूलाई १६ रनमा क्याच आउट गराए । युएईका अन्य खेलाडीको प्रदर्शन आज सम्झन लायक रहेन ।
बलिङमा नेपालका युवा अलराउण्डर कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, स्पिनर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, कप्तान रोहितकुमार पौडेलको नाममा १/१ विकेट रह्यो ।





























प्रतिक्रिया