अफ्रिकाले भारतमा जारी आइसिसी विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ। शनिबार राती पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दक्षिण अफ्रिका दुई खेल अगावै सेमिफाइनल खेल्ने पक्का भएको हो।
दक्षिण अफ्रिकाले आज दिउँसो भारतसँग खेल्दैछ। भारत र दक्षिण अफ्रिकाबीच शीर्षस्थानको लागि भिडन्त हुने पक्का भएको छ। भारत ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ। दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ।
दक्षिण अफ्रिकाले अव भारत र अफगानिस्तान दुबैसँग हारेपनि सेमिफाइनल खेल्ने पक्का भएको हो। दक्षिण अफ्रिका सन् २०१५ को विश्वकपपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो। समग्रमा दक्षिण अफ्रिका पाँचौं पटक सेमिफाइनलमा पुगेको हो। हालसम्म दक्षिण अफ्रिकाले फाइनल भने खेलेको छैन। पहिलो पटक फाइनल खेल्दै उपाधि जित्ने सोचमा छ।
२०१५ को विश्वकपको सेमिफाइनलमा वर्षाको कारण न्युजिल्यान्डले डकवर्थ लेविस पद्धतिको आधारमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। २०१९ को विश्वकपमा भने दक्षिण अफ्रिका ९ खेलमा ७ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको थियो।
अव विश्वकपमा दुई सेमिफाइनलको लागि ६ टोलीबीच प्रतिस्पर्धा छ। इंग्ल्यान्ड र बंगलादेश भने लिगबाट आधिकारिक रुपमा बाहिरिएका छन्।
अष्ट्रेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ। अष्ट्रेलियाले ७ नोभेम्बरमा अफगानिस्तानमा र ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ। सेमिफाइनल खेल्न अष्ट्रेलियालाई एक जित आवश्यक पर्दछ। दुबै खेल जितेको खण्डमा शीर्ष दुईमा अन्त्य गर्न सक्छ।
न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित चौथो स्थानमा छ। न्युजिल्यान्डले अन्तिम खेल ९ नोभेम्बरमा श्रीलंकासँग खेल्नेछ। उक्त खेलमा फराकिलो अन्तरले विजयी भएको खण्डमा सेमिफाइनलमा पुग्न सक्छ। तर अन्य टोलीको नतिजा पनि आफु अनुकुल आउनुपर्छ।
पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ। पाकिस्तानले अन्तिम खेल इंग्ल्यान्डसँग ११ नोभेम्बरमा खेल्नेछ। उक्त खेलमा फराकिलो अन्तरले विजयी हुनुपर्छ। न्युजिल्यान्डले श्रीलंकासँग हारेको खण्डमा पाकिस्तानलाई नेटरनरेटको कुनै झन्झट हुने छैन।
अफगानिस्तान ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ। अफगानिस्तानले ७ नोभम्बरमा अष्ट्रेलिया र १० नोभेम्बरमा दक्षिण अफ्रिकासँग खेल्नेछ। दुबै खेलमा विजयी भएमा भने सेमिफाइनल खेल्ने देखिन्छ।
श्रीलंका ७ खेलमा २ मा जित र ५ मा हारका साथ सातौं स्थानमा छ। श्रीलंकाले अव बंगलादेशसँग सोमबार र न्युजिल्यान्डसँग खेल्न बाँकी छ। नेदरल्यान्ड्स ७ खेलमा २ मा जितसहित ४ अंकका साथ आठौं स्थानमा छ। बंगलादेश र इंग्ल्यान्ड समान ७ खेलमा १ जितका साथ २–२ अंक जोड्दै नवौं र पुछारमा छन्।
सेमिफाइनलमा शीर्षस्थानमा रहने टोलीले चौथो स्थानमा रहनेसँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल हुनेछ। पहिलो सेमिफाइनल नोभेम्बर १५ र दोस्रो नोभेम्बर १६ मा हुनेछ। फाइनल नोभेम्बर १९ मा हुनेछ।





























प्रतिक्रिया