काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन चार्टर्डको आयोजनामा २६ वर्षपछि शनिबार गायक यम बराल एकल सांगीतिक साँझ सम्पन्न भएको हो ।
एकल साँझमा उपसभामुख इन्दिरा राना मगर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, संगीतकार शम्भुजीत बाँस्कोटा, आलोक श्री, गायक प्रमोद खरेल, हेमन्त शर्मा, गायिका देविका बन्दनालगायतको उपस्थिति रहेको थियोे ।
एकल साँझमा उपसभामुख इन्दिरा रानामगरले गायक यम बरालको खुलेर तारिफ गरिन् । साथै उनले गायक बरालको मैले सबलाई बिर्सिएछु, तिमीलाई सम्झिँदा गीतसँग आफ्नो एक समयको प्रेम जोडिएको बताइन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यम बराललाई सांगीतिक क्षेत्रमा पूर्वबाट उदाएको घामको संज्ञा दिए । उनले कलाकार देशको बलियो कुटनीतिक हतियार भएको भन्दै सम्पूर्ण कलाकारप्रती सम्मान व्यक्त गरे ।
दुई चरणको प्रस्तुति रहेको कार्यक्रममा पहिलो भागमा गायक बरालले सुगम संगीतमा आधारित मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा,..दिलमाया, अब चोटहरूले पिरोल्दैन मलाई, मन रहे पो माया प्रिति, मनै मरे के को तिर्सना, निष्ठुरीले छाडेर गइहाली, कुन साइतको साँझ टेकी पुगे तिम्रो छेउमा लगायतका गीत गाएका थिए । त्यस्तै, दोस्रो भागमा पनि रमाइला गीतहरू गाएका थिए । उनलाई गायिका देवीका बन्दनाले साथ दिएकी थिइन् ।
कन्सर्टबाट संकलन भएको रकम आयोजक लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन चार्टर्डले सामाजिक कार्यमा लगाउने प्रतिवद्धता जनाएको छ । क्लबकी अध्यक्ष कल्पना बस्नेतले कन्सर्टमा संकलन भएको रकमबाट धादिङको डोल भञ्ज्याङ माध्यमिक विद्यालयमा बालउद्यान बनाउन, क्यान्सर पीडित गायिका जमुना थापाको उपचारार्थ र तुलसादेवी फाउन्डेसन, ललितपुरद्वारा सञ्चालित अनाथालयलाई सहयोग गर्नुका साथै जाजरकोट रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने जानकारी दिइन् । साथै उनले कन्सर्टले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको बताइन् ।





























प्रतिक्रिया