काठमाडौं ।
साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बाग्मती प्रदेशले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।
आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको बाग्मतीसामु पुलिसले १ सय ११ रनको योगफल तयार गरेको थियो । १ सय १२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बाग्मतीले ३४.४ ओभरमा मात्रै ३ विकेट गुमाएर भेट्टायो । बागमतीका लागि पृथु बाँस्कोटा सर्वाधिक ४८ रन बनाएर अविजित रहे । उनले ६६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए । बाग्मतीका ओपनरद्वय आकाश थापा १ तथा आदिल खान १२ रनमा पेभेलियन फर्किँदा पारस खड्काले ४४ बलमा १ चौकासहित १७ रन बनाए । त्यस्तै, इशान पाण्डले १७ रनमा अविजित रहे ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २१/२१ तथा सुनील धमला र कुशल भूर्तेलले १७/१७ रनको योगदान गरेका थिए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पुलिस २९.३ ओभर १११ रन बनाएर अल आउट भएको थियो ।
आजै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको छ । आर्मीले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ३३ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाए । हेमन्त ओलीले १६ रन जोड्दा दिनेश अधिकारीले १२ रन जोडे ।
आर्मीका सुशन भारीले ४ विकेट लिएका थिए भने शाहब आलमले ३ र रोहित पौडेलले २ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो । आर्मीका लागि अनिल मण्डलले ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विनोद भण्डारीले ४१ रन बनाए । यस्तै राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन बनाए । जितसँगै आर्मीले २ खेलमा ४ अंक जोड्दै समूह ‘ए’अन्तर्गत आर्मी शीर्ष स्थानमा छ ।





























प्रतिक्रिया