प्रमुख पर्यटकीय क्षेत्र ठमेल अझै सुनसान, व्यवसायीहरुद्वारा ५० प्रतिशत घरभाडा छुटको माग

प्रमुख पर्यटकीय क्षेत्र ठमेल अझै सुनसान, व्यवसायीहरुद्वारा ५० प्रतिशत घरभाडा छुटको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देशको प्रमुख पर्यटकीय क्षेत्र हो ठमेल । यो समय पर्यटकीय हिसाबले सिजनको समय भएपनि यस वर्ष ठमेल सुनसान छ । बाह्रै महिना विदेशी पर्यटकले खचाखच हुने ठमेल कोरोना भाइरस (कोभिड–१९) ले यस वर्ष सुख्खा छ ।

गत चैत ११ गतेबाट लकडाउन जारी भएसँगै देशभरको व्यापार व्यावसाय ठप्प छ । मानिसहरू भाइरस संक्रमणको त्रासका कारण बाहिर निस्कन पनि डराइरहेको अवस्था छ। अर्कातर्फ पर्यटकीय हिसाबले आन्तरिक तथा बाह्य उडान ठप्प छन्, होटेल व्यावसाय चौपट अवस्थामा छन् । यसको प्रत्यक्ष प्रभाव पर्यटकीय क्षेत्र ठमेलमा पनि देखिएको छ ।

१० हजार व्यवसायी र २ हजार घरधनी रहेको ठमेल क्षेत्रमा औसत १५ हजारदेखि २५ लाखसम्म भाडा तिरेर व्यावसाय गर्दै आएका साना–ठूला व्यवसायीको अवस्था दयनीय बन्दै गएको बताउँछन् ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा । उनका अनुसार कोभिड–१९ को असरका कारण ठमेल क्षेत्र ठप्प भएसँगै २ सयभन्दा बढी व्यावसायीले सटर छोडेर पलायन भइसकेका छन् भने, थप व्यवसायी पनि छोड्ने क्रममा छन् । यसले सामान्य अवस्थामा दैनिक औसत ५० करोडको कारोबार गर्ने ठमेल क्षेत्रको भविष्य पनि अन्यौलग्रष्त बनेको छ ।

यहि विषयलाई मध्यनजर गर्दै ठमेल पर्यटन विकास परिषद्द्वारा गठित ‘कोभिड–१९ पर्यटन व्यवसायी विपत समन्वय समिति’ मातहतमा घरधनी र व्यवसायी दुवै पक्षलाई बचाई राख्न भन्दै घरभाडामा ५० प्रतिशत छुट दिन, विद्युत, इन्टरनेट लगायतका विषयमा पनि शुल्क नबढाई लिन आग्रह गर्ने निर्णयमा व्यवसायी पुगेका छन् । यस सम्बन्धमा सोमबार ठमेलमा रहेका विभिन्न ११ व्यावसायीक संगठनले विनविनको अवधारणा अनुरुप साझा आह्वानका लागि प्रेस विज्ञप्ति समेत जारी गरिसकेको अवस्था छ ।

कोभिड–१९ को असर सुरु भएको केही महिनामै व्यवसायीहरूले तालाचावी घरधनीलाई बुझाएर हिड्दा घरधनी तथा व्यवसायी दुवैको अहित हुने उपाध्यक्ष भविश्वर शर्माको भनाइ छ । अर्कातर्फ ठमेल जस्तो पर्यटकीय क्षेत्रमा यस प्रकृतिको असर पुग्दा देशको अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

सरकारले पछिल्लो समय लकाडाउनलाई केही सहज बनाएपनि ठमेल क्षेत्रको व्यापार शून्य नै छ । अन्य क्षेत्रहरु चलायमान भइरहेको अवस्थामा पनि ठमेल पर्यटकिय क्षेत्रका हिसाबले सुनसान छ । अब, यस सम्बन्धमा कसरी पर्यटक तान्ने भन्ने विषयमा व्यवसायीहरू विशेष योजनामा रहेको र त्यसका लागि खास प्याकेज घोषणा गर्ने शर्मा बताउँछन् । यस्तै अहिलेको अवस्थाका लागि होटल, टुर, ट्रेकिङ, रेष्टुराँ सबैले ४० प्रतिशत छुटमा प्याकेज घोषणा गर्ने बारेमा पनि छलफल भइरहेको शर्माको भनाइ छ ।

Logo