थवाङ विचार र क्रान्तिको प्रतीक होः प्रधानमन्त्री प्रचण्ड

थवाङ विचार र क्रान्तिको प्रतीक होः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । 

शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका हुन् ।  

‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो । थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु,’ उनले भने, ‘थवाङलाई देशले मात्रै चिन्दैन, सिंग‍ो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ। क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम ह‍ो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संंविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ।’

आगामी विशेष महाधिवेशनमा समाजवादको बाटो थप स्पष्ट पार्ने र  विचारको विकास र संश्लेषण र समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिने भन्दै उनले भने, ‘रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थवाङले फेेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ। शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं। समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ। मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। यो निकै ठूलो काम हो। सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ। यसले विदेशमा रहेेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ। अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ।’

Skip This
Skip This
Logo