नीजि क्षेत्रमाथि अख्तियारले निगरानी गर्ने विधेयकप्रति उद्योगी व्यवसायीहरुको विरोध

नीजि क्षेत्रमाथि अख्तियारले निगरानी गर्ने विधेयकप्रति उद्योगी व्यवसायीहरुको विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) २०७६’ सम्बन्धमा समितिले छलफल गरी टुंगो लगाएको प्रतिवेदन पेश गरेका छन् । जसमा बैंक, मेडिकल कलेज लगायतका सार्वजनिक संस्थाहरुलाई अख्तियारले निगरानी गर्ने उल्लेख गरिएको छ । उक्त व्यवस्थाले निजी क्षेत्रमाथि राज्यले संवैधानिक अङ्गमार्फत नियन्त्रण गर्न खोजेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई अख्तियारको दायराभित्र ल्याउन खोज्नु संविधान विपरित हुने बताए । उनले यस्तो व्यवस्था सैद्धान्तिक एवं व्यवहारीक दृष्टिकोणले पनि उपयुक्त नहुने र संवैधानिक मर्म विपरित हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ बैंकिङ समितिका सभापति सौरभ ज्योतिले निजी क्षेत्रलाई नियमन गर्ने नेपाल सरकारका विभिन्न निकाय भएको अवस्थामा अख्तियारको दायराभित्र पार्नु उपयुक्त नहुने बताए ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक हुँदाहुँदै अर्को निकायलाई निगरानी गर्ने जिम्मा दिन नहुने बताए । हरेक क्षेत्रमा आ–आफ्नै नियामक निकाय भएकाले तिनै नियामक निकायलाई थप बलियो बनाउँदै नियमन गर्नुपर्ने वातावरण निर्माण गर्नुपर्ने अवस्थामा सरकारले अख्तियारलाई दिने व्यवस्था गर्नु गलत हुने पौडेलले बताए ।

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले निजी क्षेत्रप्रति सरकार आफ्नो दायित्वबाट पछाडी हटने र अख्तियारलाई बलियो बनाउन खोजेको स्पस्ट भएको बताए । निजी क्षेत्रमा हुने भष्ट्राचार नियन्त्रणका लागि नियामक निकायहरुले काम गरिरहेको अवस्थामा अख्तियारलाई ल्याउँदा निजी क्षेत्र हतोत्साही हुने उनले बताए ।

राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले भने जनताको पैसासँग जोडिएका क्षेत्रहरुमाथि अख्तियारको निगरानी आवश्यक भएको बताए । उनले नाफा नोक्सान व्यक्तिले लिने गरी खोलिएका सार्वजनिक कम्पनी भन्दा सर्वसाधारण जनता वा शेयरधनीले व्यहोर्ने गरी खोलिएका सार्वजनिक संस्थामा अख्तियारको निगरानी उचित रहेको बताए ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६’को दफा २ खण्ड (ङ) मा सार्वजनिक संस्थाको परिभाषा भित्र निजी कम्पनी, बैंक, मेडिकल कलेज लगायतलाई समावेश गरिएको छ ।

Logo