जाजरकोटका भूकम्प पीडितलाई गोल्डस्टार शूजद्वारा सहयोग प्रदान

जाजरकोटका भूकम्प पीडितलाई गोल्डस्टार शूजद्वारा सहयोग प्रदान

केन्द्रबिन्दु
0
Shares

गोल्डस्टार शूज कम्पनीले जाजरकोट भूकम्पका पीडितलाई सहयोग प्रदान गरेको छ । 

किरण शूज म्यानुफ्याक्चर कम्पनीअन्तर्गतको गोल्डस्टार शूज कम्पनीले भूकम्प पीडितलाई ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु प्रदान गरेको हो । कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणाले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उक्त सहयोग हस्तान्तरण गरेकी हुन् ।

सङ्कटको घडीमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिकता व्यक्त गर्दै कम्पनीले विनाशकारी भूकम्पमा परेका पीडितलाई सहयोग प्रदान गरेको हो । कार्यकारी निर्देशक राणाले भनिन्, “जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउँदैछौं  । हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र उहाँहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं ।”

सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ ।

गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पा जाँदा एक सय ५० बढीको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए । सो भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रुपमा क्षति पुगेको छ ।  

Logo