सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि प्रतिवेदन विकास समितिमा पेश

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि प्रतिवेदन विकास समितिमा पेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिद्वारा गठित ‘सवारी दुर्घटना न्यूनीकरण’ उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरेको छ ।

समितिको सोमबारको बैठकमा उपसमितिका संयोजक सांसद गणेशकुमार पहाडीले सडक दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा परिषद’ स्थापना गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन तयार भएको बताए । उनले मापदण्ड विपरित बनेका सडक संरचना, सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवि चालक नहुनु, सवारी चालकमा सवारी नियमको ज्ञान नहुने र कमजोर सवारी साधनका कारण दुर्घटना हुने गरेको पाइएको बताए । त्यसका लागि सडक सुरक्षा परिषद स्थापना गरी सवारी साधन दुर्घटना न्यूनिकरणको काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । प्रतिवेदनमा नेपालमा राष्ट्रिय सडक सुरक्षा परिषद् सन् नब्बेको दशकमै स्थापना भइसकेको तर अहिले पूर्णरुपमा निष्कृय रहेकाले सडक दुर्घटना न्यूनीकरणका लागि कुनैपनि काम हुन नसकेको उल्लेख छ । त्यस्तै बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि सरकारी निकायहरुबीच समन्वयको आवश्यकता रहेको संयोजक पहाडीले बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायबीच समन्वयको अभाव, कार्यक्षेत्रको अस्पष्टता र विद्यमान कानूनमा भएका कमजोरी र भएका कानूनी व्यवस्था एवं सडक सुरक्षा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्नु पनि सवारी दुर्घटनाको कारण रहेको संयोजक पहाडीले बताए । उपसमितिमा सांसद गणेशकुमार पहाडी संयोजक, सदस्यमा सांसदहरु गौरी शंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार, रंगमती शाही रहेका छन् ।

Logo