सरकारले सांसद् विकास कोषको रकम जाजरकोट भूकम्पमा खर्चिने, १० अर्बको राहत कोष निर्माण गर्ने

सरकारले सांसद् विकास कोषको रकम जाजरकोट भूकम्पमा खर्चिने, १० अर्बको राहत कोष निर्माण गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले सांसद् विकास कोषको रकम जाजरकोट भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । 

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सांसद विकास कोषको रकम र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको हाे। चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रु आठ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनःथापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

यस्तै थप रु एक अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा रु १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको उनले बताइन् ।  

साथै बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन तत्काल ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । उक्त रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सिधैँ उपलब्ध गराउने छन् । अनुदान रकम उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुने मन्त्रिपरिषद्को निर्णय छ । 

गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा एक सय ५० बढीको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए । सो भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रुपमा क्षति पुगेको छ ।  

Logo