‘वैवाहिक अंगीकृत नागरिकताले मधेशी जनतामा मनोवैज्ञानिक असर पर्ने’ : राजेश ऐराज (मधेश मामिलाका जानकार)

‘वैवाहिक अंगीकृत नागरिकताले मधेशी जनतामा मनोवैज्ञानिक असर पर्ने’ : राजेश ऐराज (मधेश मामिलाका जानकार)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधानले मधेशी जनतामा नकारात्मक मनोवैज्ञानिक असर पर्ने मधेश मामिलाका जानकारहरुले बताएका छन् ।

संसदीय समितिले बहुमतबाट विधेयक पारित गरेपछि प्रारम्भिक प्रतिक्रिया दिँदै मधेश मामिलाका जानकार राजेश ऐराजले नागरिकताका लागि लामो समय कुराउँदा जनतामा नकारात्मक मनोवैज्ञानिक असर पर्ने र अन्य दलहरुलाई राजनीतिक विषय बन्ने बताए ।

लामो समयसम्म नागरिकता नदिने निर्णय गर्नु भन्दा पनि राजनीतिक बाहेकका अरु अधिकार प्राप्त गर्ने गरी तत्काल अंगीकृत नागरिकता दिएमा फरक नपर्ने उनले बताए । नागरिकता बिना महिलाले सिमकार्डदेखि रोजगारीसम्म पाउन मुस्किल हुने भएकाले राजनीतिक अधिकार बाहेक अरु अधिकार तत्कालै लिन मिल्ने प्रावधान लागु भए केही फरक नपर्ने उनको भनाइ छ । राज्यले नागरिकता व्यवस्थापन नै व्यवस्थित हुन नसकेको अवस्थामा राज्यले दिने भनेको परिचयपत्र दिने प्रावधान लागु हुनै ५, ६ वर्ष लाग्ने उनले बताए ।

विश्लेषक एवं मधेश मामिलाका अर्का जानकार देवेश झाले यसलाई मधेशवादी दलहरुले राष्ट्रिय एकताको पक्षमा बोल्दै महाकाली सन्धीको राष्ट्रघातलाई लिएर कुरा उठाएकाले त्यसबाट जोगिन फालिएको अस्त्र भएको बताए । विधेयकका कारण नेपाली राजनीतिक संरचना र व्यवस्थामा आमूल परिवर्तन हुन नसक्ने उल्लेख गर्दै उनले भने, ‘‘वास्तवमा यो के भएको हो भने नक्सा प्रकरणमा जुन तरिकाले मधेश केन्द्रीत दलका नेताहरुले त्यहाँ प्रस्तुतिकरण गरे । राष्ट्रिय एकताको पक्षमा आफ्नो आवाज घन्काए र महाकाली सन्धिमा भएको राष्ट्रघातलाई लिएर जुन कुराहरु उठाए त्यसबाट राष्ट्रवादको एकाधिकार लिने जुन प्रयास थियो त्यसमा त्यसमा संक्रमण जुन भयो त्यसबाट जोगिनको लागि मात्रै यो फालिएको अस्त्र हो । अरु यो केही पनि होइन ।’’

कुनै पनि ऐन निर्माण वा संशोधन गर्दा तथ्याङ्कगत विश्लेषण हुनु पर्ने भए पनि नागरिकता विधेयकका सवालमा त्यस्तो हुन नसकेको उनले बताए । पहिलेदेखि नै अंगीकृत नागरिकता भएकाहरुलाई राष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, प्रधानसेनापति, मुख्यमन्त्री, प्रदेश प्रमुख लगायतका महत्वपूर्ण पदमा निषेध गरिएकोले परिवर्तित व्यवस्थाले फरक नपर्ने बताए । उनले पहिलेभन्दा अहिले भारतबाट विवाह गरेर आउनेहरुको संख्या १० प्रतिशतमा सिमित भएको बताए । माओवादी द्वन्द्वपछि नै भारतबाट विवाह गरेर आउने क्रम न्यून रहेको उल्लेख गर्दै उनले भने, ‘‘प्राय सबैले हामी पनि आफ्नो घरमा अहिले सम्भव भएसम्म नेपालमै विहे गर्छौं । अब आजको जमानामा नेपाली केटासँग विवाह गर्नको लागि भारतीय चेलिको प्रस्ताव नै आउन छोडिसकेको छ । त्यसैले यसको कुनै असर त पर्नेवाला छैन ।’’

Logo