ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् । नेपालीका महत्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उनले निर्देशन दिए ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका आज आयोजित मन्त्रालय र मातहतका उच्च अधिकारी सम्मिलित बैठकलाई सम्बोधन गर्दै चालु आर्थिक वर्षको चार महिना पूरा भएको सन्दर्भमा हालसम्म भए गरेका काम कारबाहीको विस्तृत विवरण प्रस्तुत गर्न र कामलाई पूर्णरुपमा गति दिन उनले आग्रह गरे ।
कार्यसम्पादनको क्रममा आएका समस्या सकेसम्म आफैं हल गर्न ध्यानाकर्षण गराउँदै उनले भने, “सकेसम्म समस्या आउनै नदिने गरी काम गर्नुस् । समस्या आए आफैँ अग्रसर भएर समाधान गर्नुस् । त्यसो पनि हुन नसकेको खण्डमा मात्रै मन्त्रालयमा ल्याउनुस् । समस्या समाधानका लागि म आफैँ अग्रसर भएर लाग्छु । परिणाम निस्कनु आवश्यक छ ।”
परम्परागत तवरले काम गरेर मात्रै अपेक्षित प्रगति हासिल हुन नसक्ने भएकाले इमान्दार र जिम्मेवार भएर काम गर्न उनले सचिव, सहसचिव तथा विभागीय प्रमुखलाई आग्रह गरे ।
राष्ट्रिय गौरवका आयोजना, ठूला र पहिलो प्राथमिकतामा रहेका आयोजनाको कामलाई विशेष ध्यान दिएर अगाडि बढाउन, निर्माण व्यवसायी परिचालनमा ध्यान दिन तथा आवश्यक सहजीकरण गर्नसमेत उनले ध्यानाकर्षण गराए ।
मन्त्री बस्नेतले ऊर्जा, सिँचाइ तथा प्रसारण लाइनको आयोजनामा देखिएको समस्या समाधानका लागि आफूले नियमित मेहनत गरिरहेको उल्लेख गर्दै सोहीअनुसार तलसम्म कर्मचारी परिचालित हुनुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया