छठ पर्वको आज दोस्रो दिन ‘खरना’ मनाइँदै

छठ पर्वको आज दोस्रो दिन ‘खरना’ मनाइँदै

केन्द्रबिन्दु
0
Shares

छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदैछ। छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ। यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ।

शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय-खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरूप खाने गरिन्छ।

पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे।‘नहा-खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ। कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे।

षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ। यसलाई ‘सँझियाघाट’भनिन्छ। यसको भोलिपल्ट सप्‍तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ।

छठको व्रत बस्दा चोखो निधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ। छठ पर्वको व्रतलाई कठिन व्रतको रूपमा पनि लिइन्छ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ। देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ।

Logo