हङकङमा जारी चार देश सम्मिलित महिला टि-२० आई सिरिज अन्तर्गतको खेलमा नेपालले जापानलाई बलियो लक्ष्य दिएको छ।
नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ११४ रनको लक्ष्य दिएको छ। हङकङमा जारी महिला टि-२० आई सिरिजमा नेपालले ४ विकेटको क्षतिमा जापानविरुद्ध ११३ रन बनाएको हो।
नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन बनाइन्। चौथो नम्बरमा ब्याटिङ गर्न आएकी रुविना अन्तिम ओभरमा आउट भएकी थिइन् । इन्दु र रुविनाले तेस्रो विकेटका लागि ३० बलमा ४८ रनको आक्रामक साझेदारी गरेका थिए।
नेपाली ओपनरहरुले भने सुस्त सुरुवात दिएका थिए। पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन्। यस्तै अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन जोडिन्।
कप्तान इन्दु वर्माले ३१ बलमा २ चौका सहित २७ रनको इनिङ खेलिन्। यस्तै काजल श्रेष्ठ ७ बलमा ३ चौकासहित १५ रन बनाउँदै नटआउट रहिन्। अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन्।
जापानका लागि एलेना कुसुडा-नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन्। यस्तै मेग ओगावाले ३ ओभरमा १ विकट लिँदै २१ रन दिइन्। आयुमी फुजिकावाले ४ ओभरमा १९ रन लिँदै १ विकट नै लिइन्। नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल खेल्ने दौडबाट बाहिरिसकेको छ।





























प्रतिक्रिया