प्रधानमन्त्री पुष्पकमल दाहालले खुम्बु क्षेत्रको नेपाली पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान रहेको भन्दै सगरमाथा क्षेत्र पर्यटन विकासको अनन्त स्रोत भएको बताएका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिका पुगेर खुम्बुको व्यवस्थित पर्यटन विकास सँगै सगरमाथाको सुरक्षा र सफाईबारे व्यवस्थित कार्यविधि बनाउन आफू लाग्ने उनले बताएका हुन्।
आज शनिबार बिहान कालापत्थरमादीप प्रज्वलन गरी हस्तान्तरणसँगै राष्ट्रिय झण्डोत्तलन कार्यक्रममा सहभागी हुन खुम्बु पासाङल्यामु गाउँपालिका पुगेका उनले सगरमाथाको सुरक्षा र स्वच्छताको लागि अझ व्यवस्थित कार्यविधि निर्माणमा ध्यान दिने आश्वासन दिए।
उनले भने,‘प्रधानमन्त्रीको हैसियतले मैले यो क्षेत्रमा तपाईंहरुसँग यो कार्यक्रम गरिसकेपछि काठमाडौँ पुगेपछि खुम्बु क्षेत्रको विकासको निम्ति कसरी योजना बनाउने र यहाँको पर्यटनलाई अझ व्यवस्थित बनाउन सगरमाथाको सुरक्षासँगै सफाईपनि व्यवस्थित बनाउन कार्यविधि कसरी बजाउने भन्ने बारेमा छलफल गरेर अगाडि बढ्ने विश्वास म तपाईंहरुलाई दिलाउन चाहन्छु।’
‘खुम्बु क्षेत्रले नेपालको प्रतिष्ठाको निम्ति विश्वव्यापी रुपमा जुन महत्वपूर्ण भूमिका खेलेको छ। नेपालको पर्यटन विकासमा पनि यो एउटा कहिल्यै नटुंगिने हामीसँग भएको अनन्त स्रोत हो सगरमाथा’ दाहालले भने। कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले दाहाललाई तीन बुँदे ज्ञापन पत्र बुझाए।
उक्त पत्रमा खुम्बु क्षेत्रमा यातायातको सहज पहुँचको लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरि पालिका केन्द्रसम्मको सडक ट्रयाक खोलेको जानकारी गराउँदै सगरमाथा क्षेत्र जोड्ने चतरादेखि लुक्लासम्मको उक्त सडकको स्तरउन्नति योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरि बजेट विनिय गर्न स्थानीयले माग गरेका छन्।
साथै जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रमा बसोवास गर्ने जनताको जीवनस्तरमा परेको समस्या र चुनौतिलाई समाधान गर्न क्षतिपुर्ति पाउनुपर्ने विषयलाई नजिकिदै गरेको कोप २८ सम्मेलनमा विश्वको ध्यानाकर्षण गराउनुपर्ने तथा उच्च हिमाली भू-भागमा महंगो ढुबानिको कारण खाना पकाउने इन्धनमा महंगीको मार खुम्बुबासीले वर्षौंदेखि खेप्दै आएकोले खुम्बु गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्न समेत प्रधामन्त्रीको ध्यानाकर्षण गराइएको छ। जवाफमा दाहालले आफू खुम्बुको समग्र विकाससँगै खुम्बुबासीको साथमा रहेको बताए।





























प्रतिक्रिया