नयाँ नक्सा जारी भएसँगै चीनसँगको सीमाङ्कन टुंगाउनुपर्नेमा सीमाविद श्रेष्ठको जोड

नयाँ नक्सा जारी भएसँगै चीनसँगको सीमाङ्कन टुंगाउनुपर्नेमा सीमाविद श्रेष्ठको जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सीमाविद बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्साअनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाङ्कन टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । आइतबार राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा बोल्दै श्रेष्ठले  त्यस्ताे जाेड दिएका हुन् । लिपुलेक पश्चिममा चीनसँग पनि सीमाङ्कन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रिदेशीय विन्दु कायम गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए ।

चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशीय विन्दु कायम भएपनि नेपालको २ वटा विन्दुसमेत कायम नभएको उल्लेख गर्दै उनले चीनलाई सीमाङ्कन टुंगो लगाउन आग्रह गर्नुपर्ने बताए । साथै, त्रिदेशीय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने उनको भनाइ छ । समितिमा सीमाविद श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने समेत सुझाव दिए । सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायतका कार्यालयहरुमा नयाँ नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्नेमा श्रेष्ठको जोड छ ।

केन्द्रीय तथ्याङ्क विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै उनले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिइ नेपालमा रहेका कुटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए ।  सीमा समस्या वार्ताबाट मात्रै समाधान हुन सक्नेमा उनकाे जाेड छ  । नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्ने वातावरण नेपालले बनाउनुपर्ने श्रेष्ठको भनाइ छ । भारत वार्ताका लागि कुनै पनि हालतमा तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब सिर्जना गराउनुपर्ने उनको सुझाव छ । भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै उनले राष्ट्रसंघमा रहेका देशहरुको माध्यमबाट भारतलाई वार्ताका लागि दबाब सिर्जना गर्नुपर्ने बताए ।

त्यस्तै समितिले राष्ट्रिय महत्वको दस्तावेज तयार गरी संसदमा पेश गर्ने तयारी गरेको समिति सभापति रामनारायण विडारीले जानकारी दिए ।

Skip This
Skip This
Logo