स्पेनिश ला-लिगा अन्तर्गत शनिबार साँझ भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोना रायो भालेकानो विरुद्ध १-१ को बराबरीमा रोकिएको हो।
फ्लोरियन लेजुएनले आत्मघाती गोल गर्दा बराबरीमा रोकिएको रायोका लागि उनाइ लोपेजले सुरुवाती अग्रता दिलाएका थिए। पछिल्लो समय आफ्नो लय बिराएको बार्सिलोनाले फेरि पनि सोचेजस्तो प्रदर्शन गर्न सकेन। सुरुवाती समयमा रायोले नै प्रभुत्व जमाएको थियो।
खेलमा अग्रता पनि रायोले नै लिएको थियो। ३९औँ मिनेटमा लोपेजले बक्स बाहिर बाट सुन्दर प्रहार गर्दै बार्सिलोनाका गोलरक्षक इनाकी पेनाविरुद्ध गोल गरेका थिए।
दोस्रो हाफमा भने बार्सिलोनाले केहि सुधारिएको प्रदर्शन गर्यो। ४७औँ मिनेटमा लामीन यमालको प्रहार पोस्टको केही माथि बाट बाहिरियो। ५४औँ मिनेटमा फेरान टोरसको प्रहार रायो गोलरक्षक दिमित्रिएभ्सकीको हातमा सिधै जाना पुग्यो।
६४औँ मिनेटमा इलकाय गुन्डोगानको क्रसमा इनीगो मार्टिनेजको हेडरले पोस्टको दिशा लिन सकेन। ८२औँ मिनेटमा बार्सिलोनाले बराबरी गर्यो। अलेकज्याण्डर बाल्डेको क्रसमा रायोका डिफेन्डर लेजुएनले आत्मघाती गोल गरेका थिए।
बराबरी पछि बार्सिलोनाको १४ खेलमा ३१ अंक रहेको छ। एक खेल कम खेलेका जिरोना र रियल म्याड्रिडको क्रमश: ३४ र ३२ अंक रहेको छ। चौथो स्थानमा रहेको एटकेटीको म्याड्रिडको दुई खेल कम खेल्दा २८ अंक रहेको छ।





























प्रतिक्रिया