चेल्सीविरुद्ध न्युक्यासलको सानदार जित

चेल्सीविरुद्ध न्युक्यासलको सानदार जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार बेलुका भएको खेलमा न्युक्यासल युनाइटेडले चेल्सी विरुद्ध सानदार जित निकालेको छ। न्युक्यासलले चेल्सी विरुद्ध ४-१ को फराकिलो जीत हात पारेको हो। न्युक्यासलको जितमा अलेकज्याण्डर इसाक, जमाल ल्यासेल्स, जोएलिन्टन र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए।

इसाकले खेलको १३औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। युवा खेलाडी लुइस माइलीको थ्रु पासमा गोल गर्दै इसाकले अग्रता दिलाएका थिए। तर चेल्सीले बराबरी गर्न धेरै समय लगाएन। २३औं मिनेटमा रहिल स्टरलिङ्गले सानदार फ्रि-किक प्रहार गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए।

दोस्रो हाफमा भने न्युक्यासलले तीन गोल थप्यो। ६०औं मिनेटमा ल्यासेल्सले गोर्डनको क्रसमा हेडर मार्फत गोल गर्दै न्युक्यासललाई पुनः अग्रता दिलाए। त्यसको एक मिनेट पछि नै न्युक्यासलले अर्को गोल थप्यो।

चेल्सी डिफेन्डर थियागो सिल्भाको गल्ती पश्चात जोएलिन्टनले गोल गर्दै अग्रता दुई गोलको बनाए। ७३औं मिनेटमा चेल्सी १० जनामा सिमित भयो। रिस जेम्स रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सी दश जनामा सिमित भएको थियो।

८३औं मिनेटमा गोर्डनले चौथो गोल गर्दै फराकिलो जीत सुनिश्चित गरे। जित पछि न्युक्यासल १३ खेलमा २३ अंक सहित छैठौं स्थानमा उक्लिएको छ। चेल्सी भने १३ खेलमा १६ अंक सहित ११औं स्थानमा छ। गएराति नै सम्पन्न खेलहरुमा वेस्ट ह्याम, लुटन टाउन, ब्राइटन र बर्नमाउथले पनि जित हासिल गरेका छन्।

Logo