कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्यो, शनिबार मात्रै थप १७६ जना घर फर्किए

कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्यो, शनिबार मात्रै थप १७६ जना घर फर्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभर कोरोना भाइरसबाट निको हुनेको संख्या बढ्दै गएको छ । शनिबार मात्रै थप १ सय ७६ जना निको भएर घर फर्किएका छन् । जसमध्ये १८ जना महिला र १ सय ५८ जना पुरुष रहेका छन् । यससँगै अहिलेसम्म कूल डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । कूल निको हुनेमध्ये १ सय ४१ महिला र १ हजार ४ सय २७ पुरुष रहेका छन् ।

त्यस्तै शनिबार मात्रै ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये ४९ जना महिला र २ सय ८२ जना पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । कूल संक्रमित व्यक्तिहरुमध्ये ७ सय ५६ जना महिला र ७ हजार ८ सय ४९ जना पुरुष रहेका छन् ।

त्यस्तैगरी अहिलेसम्म १ लाख ६९ हजार १ सय ६५ पीसीआर परीक्षण गरिएको छ भने २ लाख ५२ हजार ३ सय आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परीक्षण गरिएको छ भने ४ हजार ४ सय २६ आरडीटी परीक्षण गरिएको छ । साथै देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ५ जना आइसोलेसनमा रहेका छन् ।

Logo