शीर्षस्थानको रियल म्याड्रिडको सहज जित

शीर्षस्थानको रियल म्याड्रिडको सहज जित

केन्द्रबिन्दु
0
Shares

शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ। रियल घरेलु मैदानमा ग्रानडामाथि २-० को सहज जित हात पारेको हो।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले गोल गरे। १५औँ मिनेटमा बेलिङहमको क्रसलाई रोड्रिगोले भेट्टाउन सकेन। १७औँ मिनेटमा ग्रानडाले अग्रता लिने मौका गुमायो। ब्रायन जारागोजाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो।

२६औँ मिनेटमा डियाजले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए। ग्रानडाको पेनाल्टी बक्सबाहिर आँफैले दिएको लो क्रसलाई टोनी क्रुसले चलाखीपूर्ण रुपमा दिएको पासमा उनले दुई डिफेन्डर र गोलरक्षक राहुल फर्नान्डेजलाई बिट गर्दै सहज फिनिस गरे।

४२औँ मिनेटमा जुड बेलिङहम चुक्दा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो। ५७औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। डियाजकै क्रसमा बेलिङहमको प्रहारलाई ग्रानडाका गोलरक्षक फर्नान्डेजले पञ्च गरेपनि नजिकै रहेका रोड्रिगोले रिवाउन्डमा गोल गर्न सफल भए।

७४औँ मिनेटमा बेलिङहमको पासमा फेडे भाल्भेर्डेको प्रहारलाई गोलरक्षकले बचाए। ९०औं मिनेटमा निकोलस पाजको हाफ भली प्रहारले पोस्टको दिशा लिन सकेन। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पाजकै हाफ भली प्रहार पनि सदुपयोग हुन सकेन।

यस जितसँगै रियल शीर्षस्थानमा कायम छ। रियलले जिरोनालाई हेड टु हेड र गोल अन्तरमा पछि पारेको छ। रियलको १५ खेलबाट १२ जित, २ बराबरी र १ हारका साथ ३८ अंक छ। जिरोनाको पनि समान खेलबाटै समान अंक छ। पराजित ग्रानडा १५ खेलबाट ७ अंक जोडेर १९औँ स्थानमा छ।

जिरोनाले शनिबार राति नै भ्यालेन्सियालाई २-१ ले पराजित गर्दै यो सिजन आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन्। जिरोनाको जितमा दुवै गोल क्रिष्टिएन स्टुआनीले गरे। भ्यालेन्सियाका ह्युगो डुरोले एक गोल फर्काए।

पराजित भ्यालेन्सिया १५ खेलबाट १९ अंक जोडेर नवौं स्थानमा छ। ला लिगाकै अन्य खेलमा एथलेटिको बिल्वाओले रायो भालेकानोलाई ४-० ले पराजित गर्दा ओसासुना र रियल सोसिडाडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

Logo