१४ घण्टासम्म खुलेन अवरुद्ध कोशी राजमार्ग

१४ घण्टासम्म खुलेन अवरुद्ध कोशी राजमार्ग

केन्द्रबिन्दु
0
Shares

एकै स्थानमा चार सवारी साधन दुर्घटना भएपछि अवरुद्ध भएको कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अझै खुल्न सकेको छैन । 

राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका–६, कोलबोटे भन्ने स्थानमा गए राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेको थिए । एकै ठाँउमा चार वटा सवारी साधन दुर्घटना भएपछि अवरुद्ध बनेको सडकखण्ड खुलाउन क्रेनको सहायता लिइरहेको प्रहरीले जनाएको छ । 

सुरुमा दुर्घटनाग्रस्त टिपरलाई पन्छाएर बाटो खुला गर्न नसक्ने भएपछि अर्को क्रेन ल्याउँदा बाटो खुलाउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी जाजुबाबु महर्जनले जानकारी दिए । 

शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो । सोही टिपरमा साँझ अर्को टिपरले ठक्कर दिएर दुर्घटना भयो । त्यसपछि लगातार अघिल्ला दुर्घटनामा परेको टिपर मै ठोक्किएर अर्को सवारी दुर्घटनाग्रस्त भएको हो । एकपछि अर्को सवारी दुर्घटना भएसँगै सो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।

पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १ ०२ ००२ च ३५४५ नम्बरको गाडी समेत दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उनी सामान्य घाइते छन् ।

ओरालो र घुम्ती सडक भएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले दुईओटा क्रेन घटनास्थलमा लगेर बाटो खुलाउने प्रयत्न गरिरहेको जनाएको छ । 

Logo