स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो ।
सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरभित्रका प्रत्येक घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको नगर प्रमुख कृष्ण खाँणले बताए । नगरका चौध वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित घर जिपिएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी नम्बर प्लेट टाँसिएको उनको भनाइ थियो ।
“यो कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य स्थितिकाबारेमा नगरपालिका जानकार भइरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीति तयार गर्न सघाउ पुग्ने देखिन्छ”, खाँणले भने, “वडा नं ३ को माझकोटबाट सुरु भएको यो अभियानलाई एक महिनाको अवधिमा नगरका सबै वडामा पु-याउँछौंँ ।” सरुवा रोगको सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै रोगका बारेमा सचेतना फैलाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ ।































प्रतिक्रिया