कप्तान शाई होपको सानदार शतकमा घरेलु टोली वेस्टइन्डिजले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराएको छ। योसँगै तीन खेलको ओडिआईमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ।
जितको लागि ३ सय २६ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। वेस्टइन्डिजको जितमा शाई होपले ८३ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनमा अविजित इनिङ खेले।
अन्तिम १२ बलमा जितको लागि १९ रन चाहिँदा होपले साम करणलाई तीन छक्का हान्दै एक ओभर अघिनै खेल जिताएका थिए। ओपनर एलिक एथानाजे ६५ बलमा ९ चौका र २ छक्कासहित ६६, ब्रेन्डन किंग ३५, केसी कार्टी १६, शिम्रन हेटमायर ३२ र शेर्फान रदरफोर्ड ६ रनमा आउट भए। रोमारियो शेफर्ड २८ बलमा ४ चौका र ३ छक्कासहित ४९ रनमा आउट भए।
इंग्ल्यान्डका रेहान अहमद र गुस एट्किन्सनले समान दुई विकेट लिए। साम करनले ९.५ ओभरमा ९८ रन खर्चिदा विकेट लिन सकेनन्। लियाम लिभिङस्टोन र बायडन केसले एक एक विकेट लिए।
त्यसअघि एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड ५० ओभरमा ३ सय २५ रनमा अल आउट भएको थियो। इंग्ल्यान्डका ह्यारी ब्रुकले ७२ बलमा ७ चौका र २ छक्कासहित ७१ रनको योगदान दिएका थिए।
ओपनर फिलिप साल्ट ४५, विल ज्याक्स २६, ज्याक क्रली ४८, बेन डकेट २०, जस बटलर ३, लियाम लिभिङस्टोन १७, साम करन ३८ र रेहान अहमद १२ रनमा आउट भए।
बायडन केस २१ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे। वेस्टइन्डिजका रोमारियो शेफर्ड, गुडाकेश मोती र ओशान थोमसले समान दुई विकेट लिए। दोस्रो खेल बुधबार र तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ।































प्रतिक्रिया