नेपालले एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग हार व्यहोरेको छ । शुक्रबार भएको समूहचरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई)को आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा नेपालले दिएको १५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको हो । पाकिस्तानका लागि अजन अवीसले ५६ रनको अर्धशतकीय इनिङ खेले । बलमा ८ चौका प्रहार गरे । त्यस्तै, कप्तान साद वैगले ५० रनको अर्धशतकीय इनिङ योगदान दिए । सुरुवात खराव रहेपनि पछि भने पाकिस्तानको इनिङ आकासिएको थियो ।
बलिङमा नेपालका गुल्सन झाले २ विकेट तथा आकाश त्रिपाठीले एक विकेट लिए ।
त्यसअघि हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनाएकाे थियाे । नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिए । त्यसैगरी दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे । कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए ।

ओपनर अर्जुन कुमालले २१ रन जोडे । उनले ३७ बलमा ३ चौका प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा १ रनमै आउट भए । उनी राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्, उनी भरपर्दा युवा अलराउण्डर हुन् । तर, उनको अनुभव आज चल्न सकेन । उनी अल अस्फन्दको बलमा बोल्ड आउट भए । नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुआती पाँच विकेट गुमाएको थियो । कप्तान देव खनालले १३ बल खेली शून्यमा आउट भए भने आकाश त्रिपाठी ६ रनमा आउट भए । तिलक भण्डारीले सात र सुवास भण्डारीले अविजित ८ रन बनाए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए । साथै अमिर हसनले दुई तथा उबेद शाह र अली असफन्दले समान एक/एक विकेट लिए ।
समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्। नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।
समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।































प्रतिक्रिया