किन चाहे ओलीले स्थायी कमिटीको बैठक ?

किन चाहे ओलीले स्थायी कमिटीको बैठक ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठक राख्न बाध्य भएका छन् । पटक पटक विभिन्न बाहानामा सचिवालय र स्थायी कमिटीको बैठक टार्दै आएका ओली एमसीसी कार्यान्वयन गर्ने समय नजिकीएसँगै स्थायी कमिटीको बैठक राख्न बाध्य भएका हुन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन गर्ने अन्तिम दिन यहि असार १६ गते रहेको छ । त्यसैले बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भएको भेटमा स्थायी कमिटी बैठकको मिति तय गरिएको थियो ।

एमसीसीलाई लिएर नेकपामा चर्काे विवाद रहँदै आएको छ । सोही विवाद समाधान गर्न एकाएक स्थायी कमिटीको बैठक राख्न ओली बाध्य भएको वरिष्ठ नेता माधव नेपाल र प्रचण्ड पक्षका नेताहरुको बुझाइ छ । यसअघि गत वैशाख २५ र ३१ मा बस्ने भनिएको स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर रोकिएको थियो । त्यस यता स्थायी कमिटीको बैठक कहिले बस्ने भन्ने कुनै टुंगो लाग्न सकेको थिएन । वैशाख १० गते स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्य लगायतका २० जना नेपाल दाहाल पक्षका सदस्यहरुले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । स्थायी कमिटीको बहुमत सदस्यले पत्र लेखेर बैठकको माग गरेको १५ दिनभित्र बैठक राख्नुपर्ने नेकपाको विधानमा व्यवस्था गरिएको छ । सोही अनुसार पत्र लेखेको १५ दिन अर्थात वैशाख २५ मा स्थायी कमिटीको बैठक बस्नुपर्ने थियो । तर, २५ वैशाखका लागि बोलाइएको बैठक पनि अघिल्लो दिन ऐजेण्डा तय हुन नसकेको भन्दै स्थगित गरिएको थियो ।

त्यस्तै वैशाख ३१ मा पार्टी मुख्यालय धुम्बाराहीमा तय भएको बैठक पनि कोरोना भाइरसको जोखिम बढेको भन्दै स्थगित गरिएको थियो । नेकपाको स्थायी कमिटीको बैठक पछिल्लो पटक मंसिर २९ देखि पुस ६ सम्म बसेको थियो । पार्टी विधान अनुसार तीन महिनामा एक पटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर, करिब ६ महिनादेखि नेकपाको स्थायी कमिटीको बैठक रोकिएको छ । नेकपाका स्थायी कमिटी सदस्य डा. भीम रावलले बैठक असार १० मा बस्ने बारे आफूलाई कुनै औपचारिक जानकारी नआएको बताएका छन् । स्थायी कमिटीको बैठक बस्ने बारे मिडिया मार्फत सुने पनि पार्टीबाट कुनै सूचना नआएको उनको भनाइ छ । उनले भने–‘स्थायी कमिटीको बैठक असार १० मा बस्ने तय भएको भन्ने मिडियामा आएको छ । तर पार्टीबाट औपचारिक सूचना अहिलेसम्म आएको छैन ।’

त्यस्तै स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पनि बैठक बस्नेबारे आफूलाई पनि कुनै औपचारिक जानकारी नआएको बताए । बैठक बस्ने समय अझै भएकाले एक दुई दिनमा खबर हुन सक्ने उनको भनाइ छ । ‘स्थायी कमिटी बैठक बस्ने भन्ने आएको छ । तर कुनै औपचारिक जानकारी दिइएको छैन’–ज्ञवालीले भने–‘बैठक बस्ने समय अझै छ त्यसैले होला एक दुई दिनमा आउला ।’

Logo