एकैदिन १८२ जनामा कोरोना देखिएपछि महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल

एकैदिन १८२ जनामा कोरोना देखिएपछि महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल

केन्द्रबिन्दु
0
Shares

जलेश्वर ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या बढेपछि बुधबार राति १२ बजेदेखि ७२ घण्टाको लागि गाउँपालिका सिल गरिएको छ ।

महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सम्सी गाउँपालिकामा मात्रै २७३ जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको जानकारी दिए। सम्सी गाउँपालिकामा बुधबार मात्रै १८२ जना कोरोना पोजिटिभको रिपोर्ट आएको थियो ।

महोत्तरी जिल्लामा अहिलेसम्म फेला परेको ५०८ कोरोना पोजिटिभमध्ये आधाभन्दा बढी सोही गाउँपालिकाको रहेका कारण सतर्कता अपनाउन सो गाउँपालिकाको चारकिल्ला भित्र रातिबाट सिल गर्ने निर्णय गरिएको प्रजिअ कटुवालले जानकारी दिए।

सिल गरिएको अवधिमा आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन प्रशासनले गाउँपालिकाका बासिन्दासँग आग्रह गरेको छ ।

सम्सी गाउँपालिकामा रहेको १६ वटा क्वारेन्टाइनमा एक हजारभन्दा बढी मानिस राखिएको स्वास्थ्य कार्यालय, महोत्तरीका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिए । क्वारेन्टाइनहरू व्यवस्थित नहुँदा त्यहीँबाट धेरै व्यक्तिलाई कोरोनाको सङ्क्रमण भएको हुन सक्ने आँकलन गर्दै उनले गाउँपालिकालाई तत्कालै क्वारेन्टाइन सुधार गर्न आग्रह गरिसकिएको बताए ।गोरखापत्रबाट

Logo