काठमाडौं ।
संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार खर्च धान्न नसक्ने स्थितिमा पुगेको बताएपछि आर्थिक क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र खलबलिएका बेला अर्थमन्त्रीबाट उक्त कुरा आएपछि मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको अनुमानसहित तरङ उत्पन्न भएको हो ।
अर्थमन्त्री डा. खतिवडाले सरकारलाई अनिवार्य दायित्व पूरा गर्न कठिन भइरहेको बताएपछि मुलुकको अर्थतन्त्रलाई लिएर विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । अर्थमन्त्रीले भने जस्तै सरकारलाई के साँच्चै खर्च धान्न समस्या भएको हो कि, सरकार यो तथ्य सार्वजनिक गरेर अरू कुनै अभिष्ट पूरा गर्ने दाउमा लागेको छ, भन्ने सन्दर्भमा विश्लेषण गर्न थालिएको हो ।
अर्थमन्त्रीका अनुसार अहिले सरकारलाई अनिवार्य दायित्व पूरा गर्न मासिक ४० अर्ब रुपैयाँको खाँचो रहेकोमा हाल भन्सारबाट करिब १५ अर्ब रुपैयाँ मात्रै जोहो हुँदै आएको छ । सरकारलाई अहिले मासिक करिब २५ अर्ब रुपैयाँ नगद अभाव भइरहेको अर्थमन्त्रीको भनाइबाट बुझिन्छ । लकडाउनका कारण अर्थतन्त्र चलायमान हुन नसक्दा अप्ठ्यारो परेको भए पनि अहिले नै गम्भीर समस्या भने नदेखिएको अर्थशास्त्रीहरूको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दा जुन तथ्यहरू सार्वजनिक गरिएका छन् । ती तथ्यहरूका आधारमा सरकारलाई अहिले नै ठूलो समस्या छैन भन्ने स्पष्ट हुन्छ । उनले भने ,– ‘सरकारले कि ती तथ्यहरू गलत छन् भन्नुपर्यो, होइन भने अर्थमन्त्रीले संसदमा त्यसरी रोईकराई गर्ने स्थिति छैन । हो, तत्कालको खर्च धान्नका लागि केही समस्या भए भन्सार राजस्व असुलीमा ध्यान सकिन्छ । अहिले अन्तर्राष्ट्रिय जगतबाट ऋण लिन सक्ने अवस्था छैन, निजी क्षेत्रबाट आन्तरिक ऋण उठाउनुपर्छ ।’
‘अर्थमन्त्रीले जसरी संसदमा अर्थतन्त्र गम्भीर मोडमा पुगेको संकेत गर्दै प्रस्तुत हुनुभयो, यसले उहाँ आफैंले २० दिन अघि प्रस्तुत गर्नुभएको बजेट नै असफल हुन सक्ने संकेत गर्छ’, डा. पोखरेलले भने– ‘तीन साता अघि बजेट प्रस्तुत गर्दा पेस गरेका तथ्यहरूले त त्यो बोल्दैन । बजेट बनाउने बेला र अहिलेको स्थितिमा खासै भिन्नता आएको छैन । यदि, त्यो हो भने बजेटका कार्यक्रम पुनर्लेखन गर्नुपर्छ ।’
सरकार अहिले जसरी आत्तिएको जस्तो देखिएको छ, यस्तो स्थितिमा सरकारको ढुकुटीमा रहेको सुन बेच्नुपर्ने बेला आयो भन्ने संकेत देखिएको औंल्याउँदै डा. पोखरेलले भने– ‘यथास्थितिमा पनि अझै तीन÷चार महिना त्यो अवस्था आउने छैन भन्ने हाम्रो बुझाइ हो । अर्थमन्त्री किन आत्तिनुभयो कुन्नी ?, उहाँजस्तो अनभुवी व्यक्ति यसरी आत्तिहाल्नुपर्ने स्थिति त देखिँदैन ।’
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया