शरणार्थी प्रकरणः बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश, टोपबहादुर अझै थुनामै [भिडियाेसहित]

शरणार्थी प्रकरणः बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश, टोपबहादुर अझै थुनामै [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

खाणका कानुन व्यवसायी र सरकारी वकिलहरू दुवै पक्षको बहस आजै सकिएको थियो । खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ कानुन व्यवसायीहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरेका थिए। प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले पनि खाणको पक्षमा बहस गरे । सरकारका तर्फबाट सरकारी वकिलहरू महेश खत्री र शंकर खत्रीले बहस सकिसकेपछि खाणका कानुन व्यवसायीले जवाफी बहस सकेका थिए ।

यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि निर्णय हुन सकेको थिएन। 

खरेलले खाणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। यता पाण्डेले भने ३० लाख धरौटीमा  छाड्नुपर्ने राय दिएका थिए । दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशसमक्ष पठाउने निर्णय भएको थियो । बिहीबार न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।

उच्च अदालतको यो आदेशविरुद्ध अब सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछन् । खाणले पनि आफूलाई धरौटीमा छाड्ने आदेश गलत भएको भन्दै साधारण तारेखमा छाड्न माग गर्दै सर्वोच्चमा निवेदन दिन पाउँछन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा छन् ।

यसअघि यही मंसिर १५ गते खरेल र पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनले धरौटी बुझाउन नसकेपछि हाल थुनामै छन् । 

उनीसँगै हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपैयाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ, एमाले नेता टोप बहादुरका छोरा सन्दीपसँग ३० लाख रुपैयाँ, हरिभक्त महर्जनसँग १५ लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश जारी भएको थियो । उनीहरू भने धरौटी बुझाएर छुटिसकेका छन्। साथैलक्ष्मी महर्जन, टंक गुरूङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको थियो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको थियो । पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई पनि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको थियो । 

शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् ।

Logo