कोसीमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी

कोसीमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी

केन्द्रबिन्दु
0
Shares

कोसी प्रदेशको प्रदेशसभा सचिवालयले नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी थालेको छ। 

तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त छ। गौतमले गत १६ साउनमा पदबाट राजीनामा दिएका थिए। उपसभामुख सिर्जना दनुवारले सभामुख चयनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल सुरु गरिएको बताइन्। 

अब प्रदेशसभाको अर्को बैठक बुधबार बस्दैछ। उपसभामुख दनुवारले बुधबारको प्रदेशसभाको बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको र त्यसैकालागि दलहरूसँग छलफल गरिरहेको बताइन्। 

कोसीमा राप्रपाले सभामुखमा दाबी गर्ने जनाएको छ। त्यसो त सत्ता गठबन्धनले पहिले नै राप्रपालाई सभामुख दिने सहमति गरिसकेको छ। ९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुख सहित ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन्। 

यसअघि मुख्यमन्त्री केदार कार्कीलाई राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिएका थिए। तर माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सरकारमा सहभागी भएपछि एमाले बाहिरिएको छ, तर समर्थन भने फिर्ता लिएको छैन। मुख्यमन्त्री कार्कीले राप्रपालाई समेत साथमा लिएर प्रदेशसभामा बलियो बहुमत कायम राख्ने रणनीतिमा देखिएका छन्। 

सभामुख र उपसभामुख फरक-फरक राजनीतिक दलबाट हुनुपर्ने प्रावधान छ। हाल उपसभामुख रहेकी दनुवार नेकपा एमाले पृष्ठभूमिबाट आएकी हुन्। सरकारबाट बाहिरिएको एमालेले सभामुखमा दाबी गरे उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ। यसअघि सभामुख रहेका गौतम सर्वसम्मत सभामुख चयन भएका थिए।

Logo