‘मौलिक हकका कानून कार्यान्वयन अन्तिम चरणमा पुगेको छ’ : कानूनमन्त्री

‘मौलिक हकका कानून कार्यान्वयन अन्तिम चरणमा पुगेको छ’ : कानूनमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेले मौलिक हकका कानून कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएकी छिन्।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, ०७७ अन्तर्गत सो मन्त्रालय सम्बन्धी छलफलको जवाफ दिँदै मन्त्री तुम्वाहाङ्फेले मौलिक हकका कानून कार्यान्वयनका लागि दुई मौलिक हक सम्बन्धी नियमावली बनाउन मात्र बाँकी रहेको बताइन् । “मौलिक हक कार्यान्वयनको अन्तिम चरणमा पुगेका छौ”, मन्त्री तुम्वाहाङ्फेले भनिन्, “१४ वटा मौलिक हकको नियमावली पनि बनिसकेको छ, आवासको हक र खाद्य सम्बन्धी हकको नियमावली बनाउन अन्तिम चरणको छलफल बाँकी थियो, बन्दाबन्दीले गर्दा केही ढिला भएको छ ।”

सर्वोच्च अदालतमा २१ हजार मुद्दा रहेको र सुनुवाइ ढिला भएको सांसदको जिज्ञासामा उनले न्यायलाई छिटो र सहज बनाउने तथा स्थानीय तहका न्यायिक समितिलाई बलियो बनाउन आवश्यक बजेटका लागि मन्त्रालयले पहल गर्ने बताइन् । “सर्वोच्च अदालत र कानून मन्त्रालय फरक पाटो हो, दुवैको बजेट र योजना फरक छ”, मन्त्री तुम्वाहाङ्फेले भनिन् ,“सर्वोच्च, उच्च र जिल्लामा आवश्यक बजेटका लागि सहजीकरण गर्छौ, तर सबैलाई बजेट अहिले कम छ, जनताको ज्यान बचाउन स्वास्थ्यमा रकम बढी खर्च भएको छ ।”

उनले आगामी आर्थिक वर्षको बजेटमा नागरिकको स्वास्थ्य संरक्षणलाई पहिलो प्राथमिकता दिइएको हुँदा सबैलाई बजेट कमी नै भएको स्पष्ट पारिन् । मन्त्री तुम्वाहाङ्फेले मन्त्रालयमा तालीमका लागि आवश्यक रकमको अभाव नहुने उल्लेख गर्दै कानूनमा व्यावहारिक रुपमा अनुभवबाटै छिटो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिइन् ।रासस

Logo