काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजको आयोजनामा जेभियर इन्टरनेशनल मोडल युनाइटेड नेशन्स (एक्सआइएमयुएन)को छैटौं संस्करणको शुभारम्भ भएको छ । बिहीवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच छैटौं संस्करणको एक्सआइएमयुएनको औपचारिक सुरुवात गरिएको हो ।
उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले नेपालसहित भारत, भुटान, दक्षिण कोरिया , जापान, भियतनाम, पाकिस्तान, थाइल्यान्ड, जर्मनी, अमेरिका, बेलायत, युएईलगायतका देशका मौलिक पहिरनमा सजिएर आफ्ना प्रस्तुति दिएका थिए । उनीहरुले ती देशका पहिरनमा सजिएर नृत्य गर्नुका साथै, मोडलिङ पनि गरेका थिए । विशेषगरी कक्षा ८ देखि १२ का विद्यार्थीहरुको सक्रियता रहेको कार्यक्रममा ४ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि युनाइटेड नेशन्स पपुलेसन फन्डको नेपालको लागि प्रतिनिधि वन यङ होङ, कलेजका अध्यक्ष लोकबहादुर भण्डारी, प्रमुख कार्यकारी अधिकृत गोपाल भण्डारी, उपप्राचार्य दिपेन दाहाल, कलेजका शिक्षक-शिक्षिका साथै विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं वक्ता युनाइटेड नेशन्स पपुलेसन फन्डको नेपालको लागि प्रतिनिधि वन यङ होङले युनाइटेड नेशन्सको साथै अन्य दक्षिण एसियाली मुलुकका बालबालिकाको उदाहरण दिँदै आफ्नो अनुभव साझा गरेकी थिइन् । साथै भविष्यमा के बन्ने भन्ने निर्णय विद्यार्थी आफैले गर्नुपर्ने बताएकी थिइन् । उनले भनिन्- “परिवर्तनका लागि सधैँ पैसा, शिक्षा नै चाहिन्छ भन्ने छैन । परिवर्तन आफैंबाट सुरुवात गर्ने हो ।”
उनले विद्यार्थीहरुलाई सोधिन्, “यदि तपाईं जलवायु परिर्वतनको असरबारे सोचिरहनुभएको छ भने किन प्लाष्टिकको बोतलको प्रयोग गरिरहनुभएको छ ?”
कार्यक्रममा प्रमुख अतिथि वन यङ होङका साथै अन्य अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । यो कार्यक्रम ३ दिन अर्थात् पौष ७ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा विश्वमा देखिएका संकटहरुको व्यवस्थापन सम्बन्धी अन्तक्रिया, विभिन्न मनोरञ्जनात्क कार्यक्रमका साथै अवार्ड वितरण लगायतका कार्यक्रमहरु समेटिएका छन् । यस्ता कार्यक्रमले आफूहरुको नेतृत्व विकास र क्षमता अभिवृद्धिमा सहयोग पुगेको विद्यार्थीहरुको भनाइ छ ।































प्रतिक्रिया