प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने पाँच करोड खर्च
जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेको खुलेको छ।
अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भूक्तानी भएको छ। यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो।
राष्ट्रपतिलाई थप १० लाख निकासा
राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ। २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको हो। गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो।
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत
सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो।उक्त निर्देशिका सामाजिक समितिबाट पेश भएको थियो। यो निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्नेछ।
इजरायलमा मारिएका प्रतिपरिवारलाई सरकारले दियो १० लाख राहत
इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका प्रतिपरिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिएको छ। अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो।
नयाँ भेरिएन्ट ‘जेएन-१’
कोभिड-१९ को नयाँ भेरिएन्ट ‘जेएन-१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन्। भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । जेएन-१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ।
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्नेको लाइन तुरून्तै काट्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन्।
न्यायाधीशहरूको शपथ
सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार शितल निवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएका हुन्।
किरातीको राजीनामा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेका छन्। बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले ‘क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने’ भन्दै दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै संगठनले पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरेको हो।
राष्ट्रियसभा निर्वाचन
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ। कोसी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मधेस प्रदेशका लागि महेन्द्र जनकपुरधामको नारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशका लागि हेटौंडाको श्री भुटनदेवी मा.वि।
प्राविधिक शिक्षालय, ब्लक ‘एफ’ प्राविधिक भवन, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि घोराहीको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि धनगढीको प्रदेश सभा भवनलाई मतदान स्थल तोकिएको छ।
नेपाल एयरलाइन्सका ५ वटा जहाज लिलामी
नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ। नेपाल एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई-१२ ई जहाज बेच्न लागेको हो। यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्।
गाँजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार बढी
गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भए देखि डिसेम्बर २० सम्म गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन्। आक्रमणमा ५२ हजार भन्दा बढी ब्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी ब्यक्तिहरू बेपत्ता भएका छन्।
प्रधानमन्त्री कप
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विभागिय टीम एपिएफ, लुम्बिनी, कोसी र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन्। बुधबार भएको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गर्दा अर्को खेलमा गण्डकी प्रदेशले लुम्बिनीलाई ४ विकेटले हराएकाे हाे।
त्यस्तै विभागीय क्लब एपिएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदा कोसी प्रदेशले कर्णालीलाई १० विकेटको हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भयो।





























प्रतिक्रिया