‘६ खर्ब ८० अर्ब विप्रेषण भित्रियो, ६.१ प्रतिशतले कमी’ : राष्ट्र बैंक

‘६ खर्ब ८० अर्ब विप्रेषण भित्रियो, ६.१ प्रतिशतले कमी’ : राष्ट्र बैंक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरसका कारण नेपालीको प्रमुख श्रम गन्तव्यमा समेत लकडाउन जारी रहेको अवस्थामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले कमी भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको विवरणमा कूल रु छ खर्ब ८० अर्ब ८४ करोड बराबरको विप्रेषण आएको जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण प्रमुख श्रम गन्तव्यमा भएको लकडाउन तथा रोजगारीमा देखिएको समस्याका कारण विप्रेषण आयमा गिरावट आएको हो ।

बैंकका अनुसार चालु आवको १० महिनाको तुलनामा अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या २.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई रु सात खर्ब ७२ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

तराईमा उपभोक्ता मुद्रास्फिती बढ्यो

तराई क्षेत्रमा सबैभन्दा बढी उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा तराई मधेशमा मूल्य वृद्धिको मात्रा बढिरहेको पाइएको हो । केन्द्रीय बैंकका अनुसार तराई मधेशमा उपभोक्ता मुद्रास्फीति ६.३५ प्रतिशत रहेको हो ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मुद्रास्फीति रहेको छ । ०७६ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गत वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

Logo