ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छः मन्त्री बस्नेत

ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छः मन्त्री बस्नेत

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको बताएका छन्। 

सुनसरीको इनरुवामा आयोजना गरिएको चार सय केभी क्षमताको सवस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाइ सय मेगावाट मात्र विद्युत् उत्पादन भएकामा हाल एक वर्षमा पाँच सय मेगावाटभन्दा बढी विद्युत् थपिनुले देश प्रगतितर्फ अघि बढेको तथ्य र तथ्याङ्कले पुष्टि गरेको बताएका हुन्।
 
आगामी १० वर्षभित्र करिब ३० हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने विश्वसनीय आधार देखिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा देखिएको मार्गधिकारको समस्या र स्थानीयका मागलाई सम्बोधन गर्न कानुनीरुपमा थप व्यवस्था गर्न लागिएको बताए।

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबस्टेसन सञ्चालनमा आएसँगै प्रदेशका उद्योगी व्यवसायीले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले कोसी प्रदेशले निजी क्षेत्रलाई सरकारको अङ्गका रुपमा राखेर भौतिकरुपमा मात्र नभई मानवीय विकास सुरु गरेको बताए।

सुनसरी–४ का सङ्घीय सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबस्टेसन सञ्चालनमा आउनु खुसी र गर्वको विषय भएको उल्लेख गर्दै यसले देशको अर्थतन्त्रमा अहम् भूमिका निर्वाह गर्ने बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले सबस्टेसन देशभित्रको विद्युत् खपत र निर्यातका लागि कोशेढुङ्गा सावित हुने बताए। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीयरुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रुपमा रहेको बताए।

“सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्तिसमेत गरिनेछ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुनेछ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा-पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बङ्गलादेशबीचको व्यापारका लागि इनरुवा-अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ”, उनले भने।

Logo