संविधानको संशोधन काँग्रेसले गर्नेछः उपप्रधानमन्त्री खड्का

संविधानको संशोधन काँग्रेसले गर्नेछः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्वमा रहेका सबैले राम्रो काम गरे पार्टी आफैँ सुध्रिने बताएका छन्। 

काँग्रेस बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पार्टी उपसभापति खड्काले पार्टीलाई सुधार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताएका हुन्। 

शनिबार आयोजित कार्यक्रममा उपसभापति खड्काले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने पनि बताए। 'बागमती प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाएको छ। यहाँ आएका सुझावहरूबाट हामीलाई प्रेरणा मिलेको छ,' उनले भने, 'पार्टी नेतृत्वमा सुधारिएको व्यक्ति आएमा र हामीले आफैँमा सुधार ल्याएमा पार्टीमा पनि सुधार हुने हो। हाम्रो पार्टी भगवान्, वीपी र  गणेशमान आएर सुधार गर्नुहुन्न, हामीले नै गर्ने हो।'

पार्टी सुधारका लागि जिम्मेवार पदमा रहेकाहरूले काम गर्नुपर्ने उपसभापति खड्काको भनाइ थियो। 'जिम्मेवारीमा भएकाहरूले बोलेर मात्रै हुँदैन। सबैलाई जोडेर संविधान बनाउन सक्ने पार्टीले आफ्नै पार्टी बनाउन नसक्ने भन्ने हुँदैन,'उनको भनाइ थियो। पार्टीले विगतमा गरेका कमजोरी दोहोर्‍याउन नहुने खड्काको भनाइ थियो। 

उपसभापति खड्काले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराए थिए। गणतन्त्रलाई हल्लाउने प्रयास भइरहेको बताउँदै उनले संविधानको रक्षा काँग्रेसले गर्ने बताए। 

संविधानको आवश्यकताअनुसार संशोधन काँग्रेसले गर्ने तर त्यो परिवर्तनको पक्षमा रहने पनि उनको भनाइ थियो। 'जनता मालिक भएको संविधानप्रति हामी इमानदार हुनैपर्छ,' उनले भने। सरकारले इमानदारितापूर्वक काम गरेको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो।'सरकारले सबै ठीक गर्‍यो वा सरकारले सबै बेठीक गर्‍यो भन्ने दुवै भनाइ गलत छन्। सरकारले इमानदारितापूर्वक मध्यम काम गरेको छ, सत्य यही हो,' उनले भने, 'तर, गरेको काम गरेको भनिदिनुपर्‍यो। सकरात्मक सोचले सदाचारका लागि गरिरहेका प्रयासलाई पार्टीले बिर्सिनु भएन।'

पार्टी सभापतिसँग गुनासो के का लागि हो भन्ने पनि उपसभापति खड्काले प्रश्न गरेका थिए। पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व आगामी महाधिवेशनबाट छोड्ने घोषणा गरिसकेकाे अवस्थामा राम्रो काम गरेर कमजोरी सुधारी अघि बढ्नुपर्ने खड्काले भने। पार्टीका कमजोरी भए पनि देशमा जति प्रगति भएको छ त्यो काँग्रेसको नेतृत्वमा भएको उनको भनाइ थियो।

Skip This
Skip This
Logo