काठमाडौं ।
काठमाडौँको भृकुटी मण्डपमा अवस्थित २ सय १२ रोपनी क्षेत्रफलमा काठमाडौँ महानगरपालिकाले अत्याधुनिक मेगा हल निर्माण गर्ने भएको छ ।
उपत्यकाको वास्तुकलालाई समेत ध्यानमा राखेर निर्माण गरिने मेगाहलको प्रस्तावित डिजाइन तयार भैसकेको छ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले मेगाहलको प्रस्तावित डिजाइन तयार पारेको हो । ‘१ लाख १४ हजार वर्गमिटर भन्दा केही बढीको पाँचतले मेगा हल निर्माणका लागि प्रस्तावित डिजाइन तयार भैसकेको छ,’ काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने, ‘२ सय १२ रोपनी क्षेत्रफल मध्ये करीब ६० प्रतिशतमा हरियाली बगैँचा रहने छ भने ४० प्रतिशत स्थानमा मेगा हल निर्माण हुनेछ ।’

उनले मेगा हल निर्माण गर्दा खुला क्षेत्र र हरियालीलाई प्राथमिकता दिएर डिजाइन तयार पारेको जानकारी दिए । ‘हामीले प्रस्तावित डिजाइनमै अहिले भैरहेका भौतिक संरचना भन्दा निकै कम निर्माण गर्ने गरी योजना अघि सारेका छौँ,’ ‘हामीले यहाँ मात्रै होइन महानगरपालिका भित्रका पार्क लगायतका अन्य डिजाइनहरुमा पनि खुला क्षेत्र र हरियाली प्रवर्धनलाई प्राथमिकता दिएका छौँ ।’
काठमाडौँ महानगरपालिकामा निर्वाचित भएर आएदेखि नै प्रमुख बिद्यासुन्दर शाक्यले यो आयोजनालाई ‘ड्रिम प्रोजेक्ट’ का रुपमा अघि बढाउन चाहेकाले त्यसै अनुरुप आफूहरुले काम अघि बढाएको बस्नेतले जानकारी दिए।

उक्त भवनका दुई तलामा १ हजार कार अटाउने पार्किङ हुनेछ भने २ सय जना अटाउने ६ वटा मिटिङ हल, ४ सय ५० जना अटाउने ३ वटा कन्फरेन्स हल र तीन हजार अटाउने अडिटोरियम हल एउटा रहने छ । ‘मेगा हलमा एकै पटक २ हजारसम्म अट्ने २ वटा प्रर्दशनी हलसहितको डिजाइन तयार पारेका छौँ,’ बस्नेतले भने, ‘नवप्रर्वद्धन केन्द्र ६ वटा रहनेछन् भने पाँच वटा स्वागत कक्षको डिजाइन तयार पारेका छौँ ।’
यो मेगा हलमा २२ वटा लिफ्ट र १२ वटा एस्कालेटर रहनेछन् । ‘बाहिरबाट हेर्दा यो हल एक तलाको जस्तो देखिने छ,’ उनले भने, ‘तर, अत्याधुनिक र प्रविधिमैत्री हुनेछ ।’
बस्नेतका अनुसार ट्राफिक व्यवस्थापनलाई समेत ध्यानमा राखेर दीर्घकालिन र अल्पकालिन सोँचसहित मेगाहलको डिजाइन तयार पारिएको छ । ‘हामीले डिजाइनमा चार स्थानबाट प्रवेश र दुई स्थानबाट निकास द्वारको व्यवस्था गरेका छौँ,’ उनले भने,, ‘पहिलो चरणमा साल्ट टे«निङ, भद्रकाली र भृकुटी मण्डपबाट प्रवेशको व्यवस्था हुनेछ । धरहरा निर्माण सम्पन्नपछि धरहराबाट सिधै टुँडिखेलबाट अन्डरपाससहित मेगा हल प्रवेश गराउने गरी डिजाइन तयार पारेका छौँ ।’

मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउने र प्रर्यटन प्रवर्धनलाई समेत ध्यानमा राखेर मेगा हलको योजना अघि बढाएको उनले जानकारी दिए । ‘नेपालमा अहिले हजारौँ मानिस एकै ठाउँमा बसेर विचार–विमर्श गर्ने, सभा–सम्मेलन गर्ने र नवप्रर्वतका लागि छलफल गर्ने स्थानको अभाव छ,’ उनले भने, ‘काठमाडौँ संघीय राजधानी पनि हो । यहाँ ४० लाख बढी बसोबास गर्ने गरेका छन् । यस्तो ठाउँमा विदेशीहरुलाई समेत सभा–सम्मेलनका लागि आकर्षित गर्ने योजनासहित यसको तयारी थालेका हौँ ।’
ठूला–ठूला सभा–सम्मेलन गर्न विश्वका धेरै मुलुकबाट थाइल्याण्ड, मलेसिया, अष्ट्रिया, स्वीजरल्याण्डसम्म पुग्ने गरेको दृष्टान्त बताउँदै बस्नेतले नेपालमा पनि यो हलको निर्माण सम्पन्नपछि विश्वका धेरै मुलुकलाई सभा–सम्मेलनका लागि आकर्षित गर्न सकिने बताए । ‘१२ अर्बको लगानीमा निर्माण गर्न लागिएको यो हलमा ग्रिन रुम, फुडकोड, सार्वजनिक शौचालय, रेष्टुरेन्ट, सभाहल, प्रदर्शनीहल लगायत रहने छन्,’ बस्नेतले भने, ‘हरित प्रविधिलाई प्राथमिकता दिइनेछ ।
समाज कल्याण परिषद्को मातहतमा रहेको उक्त जग्गालाई महानगरपालिकाको मातहतमा ल्याएर मेगा हल निर्माण गर्न सम्वन्धित निकायसँग सहमतिको लागि आवश्यक पत्राचार भै प्रक्रिया अघि बढेको पनि उनले बताए । उनले प्रर्दशनी मार्गको महत्वलाई समेत ख्याल गरेर अन्तराष्ट्रियस्तरको प्रर्दशनी स्थल र हल निर्माणको योजना अघि बढाएको बताए । ‘इन्टरनेशनल ट्रेड फेयरका लागि उपयुक्त ठाउँ नभएको भन्दै विगतमा केही विदेशीहरु फर्किएको कुरालाई पनि ध्यानमा राखेर हामीले अन्तराष्ट्रियस्तरको प्रर्दशनीस्थल बनाउन खोजेका हौँ ।’ उनले भने ।





























प्रतिक्रिया