समाजवादी मोर्चाले प्रमुख सहरहरूमा सन्देश सभा गर्ने

समाजवादी मोर्चाले प्रमुख सहरहरूमा सन्देश सभा गर्ने

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित चार कम्युनिष्ट पार्टीहरू सम्मिलित समाजवादी मोर्चाले देशका प्रमुख सहरहरूमा सन्देश सभा गर्ने भएको छ। 

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटीहरू गठन गर्ने र प्रमुख सहरहरूमा सन्देश सभा गर्ने निणर्य गरेको हो। कुन सहरमा कहिले कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन। 

जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रमुख शहरहरूमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितका सवालहरूका विषयमा सन्देश दिने गरी सन्देश सभा गर्ने विषयमा छलफल भएको बताए।

‘मोर्चाले अहिलेसम्म गरिरहेका कार्यक्रमहरूको विषयमा समीक्षा भयो। वर्तमान राजनीतिक परिस्थितिका विषयमा समेत कुराकानी भयो,’उनले भने,‘हाम्रो राजनीतिक आन्दोलनको उपलब्धिकारुपमा रहेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगायतका विरुद्धमा अहिले चारैतिरबाट आक्रमण भइरहेको अवस्था छ। यसलाई सरकारले केही हदसम्म तोडेको पनि छ। तर यसबारे अझै प्रष्टता छैन। मोर्चाका तर्फबाट हामीले देशका प्रमुख सहरहरूमा सन्देश दिने गरी कार्यक्रमहरू गर्ने निणर्य गरेका छौँ।’ उनले त्यसबारे बुधबारै बेलुका बस्ने बैठकले थप छलफलपछि निणर्य गर्ने बताए। 

‘संविधान र व्यवस्थाकोविरुद्धमा कतिपय शक्तिहरू लागेका छन्,त्यसलाई सरकारले निष्तेज पार्दै पनि लगेको छ,’नेता श्रेष्ठले भने,‘सरकारले गरिरहेका राम्रा काम र प्रयासहरूका विषयमा जनतालाई सन्देश पनि पुर्‍याउनुपर्नेछ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम विप्लव लगायत शीर्ष नेताहरू सहभागी थिए। अर्को बैठक बुधबार साँझ ६ बजे बस्ने नेताहरूले जनाएका छन्।

Logo