गण्डकीकाे विकास तथा पर्यटन पूर्वाधारको पूर्णताका लागि अध्यक्ष ढकालको आग्रह

गण्डकीकाे विकास तथा पर्यटन पूर्वाधारको पूर्णताका लागि अध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णता तथा शीघ्र सञ्चालनका लागि आग्रह गरेका छन् ।

आज बागलुङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ जिल्लाको समृद्धिमा ठुलो टेवा पुग्ने बताएका हुन् । 

गण्डकी प्रदेश भौतिक रूपमा दुई ठुला छिमेकी भारत र चीनसँग जोडिएको तथा  पोखरा, मनाङ, मुस्ताङ, काल गण्डकी र हिमाल देखि लिएर बागलुङको ढोरपाटनजस्ता कैयौँ अद्वितीय पर्यटकीय क्षेत्रहरू समेटिएकाले यसबाट फाइदा लिन थप प्रयत्न गर्नु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । दक्षिणी छिमेकीको करिब एक अर्ब मानिसको आस्थाको केन्द्र मुक्तिनाथ मुस्ताङ प्रवेश गर्ने गेट वे पनि बागलुङ भएकाले यसको थप  प्रवर्द्धन  गर्नु पर्ने पनि उनले उल्लेख गरे । 

भारत र चीन जस्ता निकट छिमेकीको जनसङ्ख्या पौने ३ अर्ब छ । नजिकैको ठुलो पर्यटन बजार हुनु ठुलो अवसर हो । त्यसैले यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माणले  हवाई र स्थल मार्गबाट थप पर्यटक भित्र्याउन  सकिने यथार्थलाई मनन गरेर प्रदेश सरकारले ध्यान पुर्‍याउनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । 

कोरोला नाकाको स्तरोन्नति र अधिकतम प्रयोग एवं पूर्ण सञ्चालनका लागि बागलुङ जिल्ला र गण्डकी  प्रदेशका व्यवसायीहरूले पहल लिनु पर्ने समय आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे । बेइजिङको समृद्धि भित्र्याउने र स्थानीय उत्पादन चीन तर्फ निर्यात गर्न कोरोला नाका प्रभावकारी हुने भएकाले  सङ्घीय सरकार सगसगै  प्रदेश सरकारले पनि अग्रसरता लिनुपर्ने उनको भनाइ थियो । 

बागलुङको पर्यटकीय सम्भावनाको चर्चा गर्दै अध्यक्ष ढकालले पोखरा आएका कम्तीमा पनि आधा पर्यटक पर्वत, बागलुङ बास बस्दै मुस्ताङ पुर्‍याउन सकिने योजना बनाएर काम गर्ने गरी जुट्न पनि अध्यक्ष ढकालले स्थानीय व्यवसायीहरुलाइ आग्रह गरे । 

पर्यटन प्रवद्र्धनबाट नै स्थानीय उत्पादन र उद्यमशीलताको पनि विस्तार र विकास गर्न सकिन्छ भन्ने तथ्य बुझेर आवश्यक पर्यटन पूर्वाधारको निर्माण गरी छिमेकको विशाल पर्यटन बजारलाई आकर्षित गर्नु पर्ने पनि उनले बताए ।      

सो अवसरमा अध्यक्ष ढकालले बागलुङ महोत्सवमा  समुद्घाटनमा सरिक हुनु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाइ नेपालका समग्र उद्योगी, व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र यस महोत्सवको मुख्य आयोजक जिल्ला उद्योग वाणिज्य संघ, बागलुङका तर्फबाट धन्यवाद समेत व्यक्त गरे । 

Logo