हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो, राखे यलम्बरलाई

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो, राखे यलम्बरलाई

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई नचिन्ने सायदै कोही होलान् । उनको चर्चा देशमा मात्र नभएर विदेशमा पनि हुने गरेको छ । तर हर्क साम्पाङ चर्चासँगै बेला–बेला विवादमा पनि मुछिँदै आएका छन् । आफ्नै अभिव्यक्ति र गतिविधिका कारण पटक–पटक विवादमा तानिँदै आएका धरानका मेयर हर्क साम्पाङ यतिबेला पुनः आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर विवादमा तानिएका छन् । 

केन्द्रले धरान उपमहानगरलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्यकक्षबाट हटाएका हुन्। अहिले उनको कार्यकक्षमा यलम्बरको तस्बिर राखिएको छ।

पछिल्लोसमय मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउने र कोसीबाट पानी ल्याएर धरानेबासीलाई खुवाउने लक्ष्यका साथ बारम्बार केन्द्रमा आएर प्रधानमन्त्रीलगायत सम्बन्धित मन्त्रीहरुलाई भेटेर आफ्नो समस्या बताए पनि केन्द्रले चासो नदिएकाले उनले यस्तो गरेको हुन सक्ने आंकलन गरिएको छ । 

मेयर साम्पाङले हिजो (बुधबार) मात्रै केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने भनेर सामाजिक सन्जालमा राखेका थिए। त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका हुन्।

यस्तै केही दिनअघि मेयर साम्पाङले विवादित स्टाटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका थिए । उनले उक्त पोष्टमा लेखेका थिए, ‘धरानलाई कि त विकास देऊ नत्र स्वयत्तता देऊ ! स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई ! स्वतन्त्र राज्य बनाउन नपरोस् !!’
 
मेयर साम्पाङले राज्यका निकायहरूलाई ठाडो चुनौती दिनेमात्र होइन, आफूमाथि प्रश्न उठाउनेहरूलाई समेत धाकधम्की दिने गरेका छन् । उनी आफ्नो पोष्टमा कसैले नराम्रो प्रतिक्रिया दिएमा कुनै सोच विचार बिनै सोझै जवाफ फर्काइ हाल्छन् । तर, अहिलेसम्म उनका आपत्तिजनक अभिव्यक्तिहरूलाई लिएर राज्यको कुनै पनि निकायले उनलाई सामान्य स्पष्टीकरणसम्म सोधेको छैन । 

Skip This
Skip This
Logo