यती एयर दुर्घटनाको एक वर्षपछि बुझाइयो प्रतिवेदन, प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी कटौती [भिडियाे]

यती एयर दुर्घटनाको एक वर्षपछि बुझाइयो प्रतिवेदन, प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी कटौती [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुनेछ। कटौती भएका दरबन्दीका कर्मचारी अब अन्यत्र काम गर्ने शर्माको भनाइ छ। 

टेरामक्समा पूर्वमन्त्री बास्कोटा पनिः २५ मागेकोमा ७० करोड स्वीकृत

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रक्रियामा तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाको समेत संलग्नता भेटिएको छ।

प्राप्त कागजात र विवरण केलाउँदा तत्कालीन मन्त्री बास्कोटाले टेरामक्स प्रविधि खरिदकै लागि ७० करोड रुपैयाँ छुट्याउने गरी बजेट स्वीकृत गरेको भेटिएको हो। प्राधिकरणको उच्च स्रोतबाट प्राप्त कागजात अनुसार, ७ कात्तिक, २०७५ मा बास्कोटाले मन्त्रीस्तरीय निर्णय गरी बजेट चलाउन सहमति प्रदान गरेका हुन्।

प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक नभएको कुलमानले स्वीकारे

नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक अहिले उपलब्ध नभएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वीकार गरेका छन् ।

अहिले टीओडी मिटरको विषय नउचाल्न समेत उनले आग्रह गरे। २०७० सालको प्रतिवेदनले नै उद्योगहरुमा विद्युत् खपत भएको स्पष्ट पार्ने भन्दै उनले जुन चिजको डाटा छैन, त्यसको पछि नलाग्न आग्रह गरे। साथै उनले बक्यौता नतिरेसम्म उद्योगहरुको लाइन काट्न भने नछाड्ने अडान राखेका छन्। 

यती एयर दुर्घटनामा मानवीय त्रुटि औंल्याउँदै आयोगले बुझायो अन्तिम प्रतिवेदन

१ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ।

यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो। यस दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ।

सर्वोच्चका ‘श्रीमान’ विवादमा-महिलालाई ‘हनी ट्र्याप’ पारेर उच्चका न्यायाधीशविरुद्ध कीर्ते बयान

सर्वोच्च अदालतका एक जना बहालवाला न्यायाधीशले मुद्दा जिताइदिने भनेर झगडीयाको घरमै गई उच्च अदालतका वहालवाला न्यायाधीशविरुद्ध झूठो बयान रेकर्ड गराएको खुलासा भएको छ।

मुद्दा जित्ने लोभमा झूठो बयान दिएकी ती झगडीया महिलाले आफूलाई दिइएको आश्वासन पूरा नभएपछि अदालती बयानमै सर्वोच्चका न्यायाधीशको पोल खोलेकी हुन्।

उच्च अदालतका न्यायाधीश डा. नवराज थपलियालाई जसरी पनि फसाउने योजनाअनुसार सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठले न्यायिक आचारसंहिता र मर्यादाविपरीत ती महिलाको सोह्रखुट्टेस्थित द यल्लो हाउस होटलमै गएर थपलियाविरुद्ध बोल्न लगाएको पाइएको छ।

सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण

सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन्। यो मूल्य गत वर्षको भन्दा प्रतिकिलो ३ रुपैयाँ बढी हो।

महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुनव्यवसायीहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सना र चुडामणि भण्डारीले आज दायर गरेको रिटमा गर्भनर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ । उक्त निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ।

मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय

मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ ।

अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी माघ १५ गतेसम्मका लागि जाडो बिदा दिने निर्णय गरिएको हो।
 
हिजबुल्लाहले आक्रमण जारी राखेमा इजरायली सेनाले लेबनानको सीमाबाट हिजबुल्लाहलाई हटाउन कारबाही गर्ने चेतावनी

इजरायलका एक मन्त्रीले हिजबुल्लाहले आक्रमण जारी राखेमा इजरायली सेनाले लेबनानको सीमाबाट हिजबुल्लाहलाई हटाउन कारबाही गर्ने चेतावनी दिएका छन्।

यदि विश्व र लेबनानी सरकारले उत्तरी इजरायलमा चरमपन्थीहरूको गोलाबारी रोक्न नसके इजरायली सेनाले हस्तक्षेप गर्ने मन्त्री बेनी गान्ट्जले बताएका हुन्। उनले अब कूटनीतिक समाधान खोज्ने समय सकिएको बताएका हुन्।

अक्टोबर ७मा हमास र इजरायलबिच सुरु भएको युद्धपछि इजरायल र लेबनानबिचको सीमा क्षेत्रमा गोली हानाहानका घटनाहरू बढेका छन्। जसका कारण गाजाको युद्ध सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने चिन्ता पनि बढिरहेको छ।

सन्दीप लामिछानेको टोली प्रो-क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश 

सशस्त्र प्रहरीको एपीएफ क्लबसँग हारे पनि सन्दीप लामिछानेको टोली पर्सा-११ नेपाल प्रो-क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

वीरगन्जस्थित नारायणी रंगशालाको क्रिकेट मैदान बिहीबार भएको खेलमा एपीएफसँग ८ रनले पराजित भए पनि पर्सा-११ रन रेटका आधारमा अन्तिम चारमा पुग्न सफल भएको हो। अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।

Logo