क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथि लागेकाे नाबालिग बलात्कारकाे आरोप पुष्टि हुने फैसला गरेको हो ।उनलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
१६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानूनी व्यवस्था छ।
गत वर्ष भदौ ५ गते राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपले जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए। मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। त्यसपछि उनले बाहिरबाटै निरन्तर यो मुद्दा लडिरहेका थिए ।































प्रतिक्रिया