पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई आसन्न आम निर्वाचनलाई मध्यनजर गर्दै जेलमै रणनीतिक बैठक गर्न अनुमति दिएको छ।
पाकिस्तानमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ। यसलाई लिएर पाकिस्तानमा अहिले राजनीतिक सरगर्मी बढेको छ। तर, तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खान भने जेलमा छन्।
अदालतले इमरान खानले पार्टी सदस्य असद कैसर, जुनैद अकबर खान, सिनेटर औरंगजेब खान र मोहम्मद खान र इश्तियाक मेहेरबानसँग बैठक गर्न अनुमति माग्दै दायर गरेको रिटमा फैसला सुनाएको हो।
शुक्रबारको सुनुवाईको क्रममा, पाकिस्तानका महान्यायाधिवक्ता (एजीपी) मन्सुर उस्मान अवान, इमरान खानको पार्टीका वकिलहरू र अदियाला जेल सुपरिटेन्डेन्ट अदालतमा उपस्थित भएका थिए।
पाकिस्तान तहरीक–ए–इन्साफका वकिल शोएब शाहीनले पार्टीले ७०० टिकटको बाँडफाँडमा छलफल गर्न आवश्यक रहेको बताएका छन्। निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलका शिविरमा चुनावी गतिविधि सुरु भएको छ।
आइतबार उम्मेदवारी दर्ताको अन्तिम मिति सकिँदै गर्दा निर्वाचनको कार्यक्रम धमाधम चलिरहेको छ। निर्वाचन अधिकृतले डीसेम्बर २५ देखि ३० सम्म मनोनयनपत्रको छानबिन गर्ने कार्यतालिका रहेको छ।
गत वर्ष मार्चमा वाशिंगटनस्थित देशको दूतावासले पठाएको गोप्य कूटनीतिक पत्र खुलासा गरेर आधिकारिक गोप्य कानूनको उल्लंघन गरेको आरोपमा पूर्वप्रधानमन्त्री इमरान खानलाई अगस्टमा पक्राउ गरिएको थियो।
७१ वर्षीय इमरान खान र उनका निकट सहयोगी ६७ वर्षीय पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई सोमबार विशेष अदालतले गोप्य सूचना चुहावट गरेको आरोपमा दोषी ठहर गरेको हो।





























प्रतिक्रिया