जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन गर्ने

जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। 

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका हुन्। कानुनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन।

शुक्रबार न्यायाधीश ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि लामिछानेलाई दोषी ठहर गरिएको हो । उनको सजाय निर्धारण भने पुस २५ गते तोकिनेछ । सन्दीप दोषी ठहरपछि उनलाई कम्तीमा ७ देखि १० वर्षसम्मको जेल सजाय कानुनी व्यवस्था छ ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका लामिछानेविरुद्ध गौशाला–२६ ले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटेलमा बलात्कार गरेको भन्दै पीडित किशोरीले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

भदौ २३ मा काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर नेपाल फर्किने क्रममा असोज २० गते त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।
कात्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले । उक्त मुद्दाको सुनुवाई पटक–पटक जिल्ला अदालतमा हेर्दा–हेर्दैको सूचीमा परेर लम्बिँदै आएको थियो । त्यसपछि शुक्रबार उक्त फैसला आएको हो । 

Logo