जनवरी ७ मा हुने आमचुनावका लागि बंगलादेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदानअघि बंगलादेशभर १.८९ लाखभन्दा बढी प्रहरी परिचालन गरिएको जनाइएको छ।
देशमा सत्तारुढ दललगायत सबै राजनीतिक दलले आफनो पक्षमा जनमत बढाउन निरन्तर सभा र र्याली गरिरहेका छन्। विपक्षी दल बीएनपीले बहिष्कार गरेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरी परिचालन गरिएको छ।
प्रहरी मुख्यालयका नायब महानिरीक्षक (अपरेसन) अनवर हुसेनले बंगलादेशभरी १ लाख ८९ हजार प्रहरी परिचालन गरिएको र मतदानको दिन मजिस्ट्रेटसहित निर्वाचन ड्युटीमा खटिने बताए।
यसका साथै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रहरीले गस्ती समेत गर्नेछ। एक प्रतिवेदन अनुसार करिब १ लाख ७४ हजार प्रहरी बिना बिदा ड्युटीमा रहनेछन् भने अन्य प्रहरी नियमित काममा खटिनेछन्।
विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि देशव्यापी हड्ताल र यातायात बन्दको आह्वान गरिएको छ। वर्तमान प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा देशमा कहिल्यै निष्पक्ष निर्वाचन हुन नसक्ने बिएनपीको भनाइ छ।
पछिल्लो दुई महिनामा राजनीतिक हिंसामा ११ जनाको मृत्यु भएको छ भने ३ सय ८६ सवारी साधनमा आगजनी भएको छ। प्रहरीले बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरलगायत राजनीतिक हिंसामा संलग्न धेरै विपक्षी कार्यकर्तालाई पक्राउ गरेको छ।































प्रतिक्रिया