इच्छाकामना गाउँपालिकामा बजारीकरण गर्न सुन्तला महोत्सव

इच्छाकामना गाउँपालिकामा बजारीकरण गर्न सुन्तला महोत्सव

केन्द्रबिन्दु
0
Shares

चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ। सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो। 

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो। महोत्सव तीन दिनसम्म चल्नेछ।

स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलो पटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। 

उनले भने,‘महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेका छौँ।’ गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उनको भनाइ छ। 

महोत्सवमा सुन्तला धेरै खाने प्रतियोगितासमेत आयोजन गरिनेछ। बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको कक्ष महोत्सवमा राखिने अध्यक्ष गुरुले बताए। महोत्सवको अवसरमा सुन्तला कृषकलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्याधिसम्बन्धी तालिम दिने काम पनि महोत्सव गरिनेछ। स्थानीयले बनाएका परिकार पाहुनालाई खुवाउने तथा  स्थानीय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत गर्नेछ।  

“इच्छाकामनामा उत्पादन भएका सुन्तला देशका विभिन्न बजारमा बिक्री गर्न सहज हुने विश्वासका साथ महोत्सव आयोजना गरेका हौँ”, अध्यक्ष गुरुङले भने, “यसबाट यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत मद्दत पुग्ने विश्वास छ ।” 

गाउँपालिका कृषि विकास शाखाका अनुसार यहाँका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै सुन्तला बिक्री गरी रु १० करोड आम्दानी लिने अनुमान गरिएको छ।

अहिले किसानको बारीबाट सुन्तला प्रतिकिलो रु ७५ देखि रु ९० सम्ममा सुन्तला बिक्री हुने गरेको शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिए । यस वर्ष यहाँ ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ। 

गत वर्ष कृषि ज्ञान केन्द्रले सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा वितरण गरेको थियो। गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताए।

Skip This
Skip This
Logo