प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा भएको घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दैछ। समितिले घटनाका विषयमा गृहमन्त्री श्रेष्ठ जानकारी लिन लागेको हो।
विहान साढे ८ बजेबाट बस्ने बैठकमा घटनाको विषयमा गृहमन्त्री श्रेष्ठसहित तीन वटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न लागेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
‘समितिमा गृहमन्त्रीलाई बोलाएका छौँ, सुरक्षा निकायका प्रमुखहरूलाई पनि बोलाएका छौँ,’ उनले भने,‘किन त्यस्तो घटना भयो? प्रहरीले संयमता किन नअपनाएको हो? र घटनापछि के भइरहेको छ? छानविन र जाँचबुझ समितिको भूमिकासम्मका विषयहरूमा छलफल हुन्छ। गृहमन्त्रीबाट जवाफ माग्छौँ।’
शुक्रबार कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको थियो। प्रहरीको कुटपिटबाट दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भयो भने अछामका २२ वर्षीय बीरेन्द्र शाह प्रहरीको गोली प्रहारबाट ज्यान गुमाए।
घटनापछि गृह प्रशासनको असफलता र लापरबादी छरपष्ट भएको भन्दै चौतर्फी विरोध भइरहेको छ भने केहीले गृहमन्त्री श्रेष्ठको राजीनामा समेत मागिरेका छन्।
घटनापछि गृहले डिआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाए पनि पीडितहरूले न्यायिक छानविन माग गरेपछि सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति बनाउने वचन दिएका छन्।





























प्रतिक्रिया