राष्ट्रिय सभामा गठबन्धनसँग एमालेले खोज्यो भागबण्डा, प्रधानमन्त्री धरान उत्सवमा नजाने [भिडियाेसहित]

राष्ट्रिय सभामा गठबन्धनसँग एमालेले खोज्यो भागबण्डा, प्रधानमन्त्री धरान उत्सवमा नजाने [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभाको सीट भागबन्डाको लागि बसेको सत्ता गठबन्धनको बैठक बिहान ९ बजे पुनः बस्ने गरी सकिएको छ। हिजो र आज बसेको काँग्रेस र माओवादीबीचको छलफलमा राष्ट्रिसयभामा एमालेलाई पनि समेट्नेबारे छलफल भएको छ। 

राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि सीट भागबन्डा गर्ने तयारी गरेका हुन्। आज पनि एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए। 

प्रधानमन्त्री धरान आाउने भए मात्र उनको तस्विर आफ्नो कार्यकक्षमा टाँग्ने मेयर साम्पाङ्गकाे अडान

धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएका छन्। धरानका मेयर हर्क साम्पाङ्ग प्रधानमन्त्री धरान आाउने भए मात्र उनको तस्विर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए।

धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ। त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथिबिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी मेयर हर्कले गरेका छन्।

जडिबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले फैसला

पूर्व अरनिको यातायात प्रालिले काठमाडौँ महानगरपालिका–३२ वडाको जडिबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले फैसला गरेको छ।

निजी लगानीमा निर्माण सम्पन्न भएर सञ्चालन समेत सुरुवात भएको बसपार्क र त्यहाँ निर्माण भएको संरचना महानगरपालिकाले भत्काउने भएपछि त्यसका विरुद्ध पूर्व अरनिको यातायात प्रालि उच्च अदालत पाटन गएको थियो।

अदालतले बुधबार अरनिको यातयातको पक्षमा फैसला गर्दै निजी लगानीमा निर्माण भएको बसपार्क र त्यहाँ निर्माण भएको कुनै पनि संरचना नभत्काउन फैसला गरेको हो।

सूर्य दर्शन सहकारीका पूर्व सञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका भएका थिए ।मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस

न्याय परिषद्को हिजाे बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहेका छन्।

राष्ट्रिय सभाको मर्म अनुसारका सांसद हुने अवस्था आफूले नदेखेको गगन थापाकाे जिकिर

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको मर्म अनुसारका व्यक्तिहरु सांसद हुने अवस्था आफूले नदेखेको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले भने,‘निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदै गर्दा यस्तो कुराहरु आफैं हराउँदै जाने रहेछ।’

काठमाडौँ जिल्ला अदालतबाट एक थुनुवा हत्कडीसहित बुधबार भागे

काठमाडौँ जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएका एक थुनुवा बुधबार हत्कडीसहित भागेका छन्।

अदालत परिसरबाट कमल खड्का नाम गरेका व्यक्ति भागेको प्रहरी स्रोतले जनाएको छ। उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ । ठगी मुद्दामा म्याद थप गर्न उनलाई अदालत ल्याइएको थियाे।

लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ

लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा लमजुङको दोर्दी गाउँपालिका-८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो। तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा  उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने छ।  

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते ९अप्रिल २८ र २९० मा काठमाडौँमा आयोजना हुने भएको छ। यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो।

सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदश्य सचिव सुशील भट्टले जानकारी दिए।

लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार 

कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ। कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको सङ्केत देखिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटक पनि बढेका छन्। त्यसयता मात्र लुम्बिनी आउने भारतीय पर्यटकको सङ्ख्या बढदो छ। 

जापानमा भूकम्पमा परि  मृत्यु हुनेकाे  संख्या ६४ पुग्याे

जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ। भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मङ्गलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन्। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो।

ब्याटर  ज्योति पाण्डेले लिइन् राष्ट्रिय टिमबाट सन्यास 

ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन्। प्रधानमन्त्री कप महिला टी–२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लब एपीएफ च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन्।

उनले सन् २०१६ मा नेपालको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन्। अन्तिम पटक २०२१ मा कतारविरुद्ध खेलेकी थिइन्। उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य थिइन्।

Logo