मन्त्री किरातीलाई ३ वर्ष कैदको माग गर्दै जाहेरी, भारतले १० हजार मेगावाट बिजुली किन्ने सम्झौता [भिडियाेसहित]

मन्त्री किरातीलाई ३ वर्ष कैदको माग गर्दै जाहेरी, भारतले १० हजार मेगावाट बिजुली किन्ने सम्झौता [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

प्रतिपक्षलाई अहिलेसम्मकै उदारता प्रदर्शन गरेको प्रधानमन्त्रीकाे दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिपक्षलाई अहिलेसम्मकै उदारता प्रदर्शन गरेको दाबी गरेका छन्। अहिले राष्ट्रिय सभामा पनि नेकपा एमालेलाई समेटेर जानेबारे छलफल भइरहेको बेलामा उनले यस्तो बताएका हुन्।

रामेछापको सुनापति गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको प्रवेशले सत्ता गठबन्धनमा कुनै आँच नआउने पनि बताए। 

नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर

नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ। काठमाडौँमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको हो।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापारमा सम्झौता भएको छ। भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन्। 

नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ । यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका छन्। यस्तै प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ।

युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक 

सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ। रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको देशिक रोजगार विभागले जनाएको छ। हालसम्म रुसी सेनमा गएर ९ जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन्।

एनसेलको शेयर खरिदबिक्रीबारे देखाए सभामुख घिमिरेले चासाे

सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्रीको विषयमा चार वटा संसदीय समितिले छलफल चलाएको र अध्ययन गरिरहेको विषयमा चासो देखाएका छन्। संसद सचिवालयका अनुसार चार वटै समितिका सभापतिसँग छुट्टाछुट्टै भेटेर सभामुख घिमिरेले एउटै समितिमा छलफल चलाउन आग्रह गरेका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बुझाएको राजीनापत्र सार्वजनिक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको बुझाएको राजीनापत्र सार्वजनिक भएको छ। गत मंसिर २० गते गजुरेलले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेको दिनमै बाहिरिएको हो।

उनले सरकारले सुरुआति दिनमा केही राम्रो कामको थालनी गरेपनि निष्कर्षमा पुर्याउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन्। उनले राजीनामा पत्रमा जनअपेक्षा पूरा गर्ने वातावरण नभएको वर्तमान अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने तर्क पेश गरेका छन्। 

निर्वाचन आयोगले गर्याे यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ। यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका र एक जना अस्वथ्य भएकाले निर्वाचन अधिकृतहरू परिवर्तन गरिएका हुन्।

देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेकाे छुः पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन्। भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले भने, ‘म बोलिरहेछु। देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु। म कतै गएको छैन। सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेपालीहरुको सुख-दुःख, सुविधा, असुविधा, बाधा-पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु।’

विद्यार्थीहरूले त्रीविको प्रिन्सिपल कार्यालय तोडफोड

विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन्। माघ पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन्।

प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश क्रिकेट संघलाई सिफारिस गरेको थियो । सोही सिफारिसमा आपत्ति जनाउँदै विद्यार्थीले तोडफोड गरेका छन्।

सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी 

धार्मिक भावनामा आँच पुर्याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ। काठमाडौँका ध्रुवराज लुइँटेलले मन्त्री किरातीविरुद्ध हुलाकमार्फत् जाहेरी पठाएका हुन्। उनलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरिएको छ। 

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा पाइलट शाहलाई भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा नेपाल वायुसेवा निगमका पाइलट सम्राट बहादुर शाहलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

शाहले भारतको सेकेण्डरी एजुकेशन काउन्सिल उत्तर प्रदेशअन्तर्गत भीएसजे इन्टर कलेज सराहरी गोरखपुरबाट२०२३ को इन्टरमिडियट (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्णसहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको हैसियतमा लाभ लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताएका छन्। 

हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने निर्णय

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको छ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टङ्कलाल घिसिडको अध्यक्षतामा आज बसेको बैठकले हाल पुल्चोकको हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैँसेपाटीमा निर्मित भवनमा स्थानान्तरणपश्चात् खेलाडी आवासका रुपमा रुपान्तरण गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको हो। 

दक्षिण कोरिया नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार

घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बिहीबार बताएका छन्।

लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए। उनको घाँटीको बायाँ भागमा चक्कुको चोट लागेको थियो।

क्रिकेट सङ्घ (क्यान)ले गर्याे वार्षिक खेल तालिका सार्वजनिक
 
नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ। क्यानले आज पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेल तालिका सार्वजनिक गरेको हो। 

नेपालले आइसिसी विश्वकप लिग दुई, टि–२० सिरिज, एकदिवसीयलगायतका  सिरिजलाई खेल तालिकामा समेटेको छ। नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।

Skip This
Skip This
Logo