नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको १०औं वार्षिक साधारण सभा तथा २५औं स्थापना दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफूहरुले निरन्तर पहल गरेको जानकारी गराएका हुन् ।
उनले भने, ‘पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन् । साना ठूला सबै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती छन् । उद्योग व्यवसाय गर्ने वातावरण बनाउन हामीले सरकारलाई पनि बारम्बार आग्रह गर्दै आएका छौं, विज्ञ लगाएर सुुझाव तयार गरी वुुझाएका पनि छौं । ती कुराहरू कार्यान्वयन हुनु पर्यो ।’
अध्यक्ष ढकालले थपे, ‘पछिल्लो समय ट्रङ तथा डेडिकेटेड लाइनको महशुल विवादले पनि उद्योगीहरु समस्यामा छन् । उद्योगहरुको डेडिकेटेड र टंकलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ । यसले औद्योगिक वातावरण विगार्छ । यसको समाधानका तत्काल एक उच्चस्तरिय आयोग वा संयन्त्रको माग गरेका छौ । यो समस्या कुनै एक निकायले समाधान गर्न सक्दैन ।’
उनले निजी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नुपर्ने बताए । उनले भने, ‘यसरी काटिएको लाइन जोडन र थप नकाटन म आग्रह गर्दछु । यसले रोजगारी र राजश्वमा असर गरेको छ । मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।’
अध्यक्ष ढकालले भने, ‘मुलुकभरिकै व्यापार व्यवसायलाई मुलुकको समग्र अर्थतन्त्रले प्रभावित पारेको छ । वाह्य क्षेत्र सकारात्मक भएपनि मुलुक भित्र माग सिर्जना हुन सकेको छैन् । यो विगतमा हामीले एकपछि अर्को गर्दै गरेको नीतिगत निर्णयका कारण भएको हो । मुलुकमा भविष्य नदेखेर युवाहरु पलायन भैरहेका छन् । रेमिट्यान्स त आएको छ तर उपभोग बढेको छैन् । हामीले यो समस्या हुँदैछ भनेर शुरुमै सरकारको ध्यानाकर्षण गराएका थियौँ । तर समाधानमा ध्यान पुगेन । हामीले असोजमा राष्ट्रिय आर्थिक बहस आयोजना गर्यौ । त्यसमा अन्तरनिकाय समन्वय र नयाँ चरणको सुधारका लागि आयोग वा उच्चस्तरीय संयन्त्रको हामीले माग गर्यौ । सोही अनुरुप प्रधानमन्त्रीज्यूले सम्वाद परिषद व्युत्याउने घोषणा त गर्नुभयो तर वैठक भएको छैन ।’
अध्यक्ष ढकालले थपे, ‘उद्योग मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अन्तरनिकाय सम्मिलित राष्ट्रिय व्यापार सहजीकरण समितिको कार्यविधि बनाउन निर्देशन दिनुभएको छ । हामीले माग गरेको यही र यस्तै संयन्त्र हो । जसले सम्वेदनशील भएर उद्यमीका समस्या समाधान गरोस् । यो तत्काल बन्नुपर्यो र संयन्त्र निर्माण हुनुपर्यो । हाम्रो आग्रह छ ।’
बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त रहेकाे र यसको उपयोगका लागि निजी क्षेत्रलाई वातावरण बनाइदिन पनि सरकारलाई उनले आग्रह गरे । यसका लायि महासंघले सातै वटा प्रदेशमा लगानी सम्मेलनको योजना पनि अगाडि सारेका जानकारी गराउदै कोहलपुरमा कुन कुन क्षेत्रमा लगानी ल्याउन सकिन्छ, उद्योग व्यवसायको सम्भाव्यता कतिको छ यसमा गृहकार्य गर्न पनि उनकाे आग्रह छ ।





























प्रतिक्रिया