भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समय अनुकुल नयाँ खरिद ऐन चाँडै ल्याउने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले समय परिस्थिति परिवर्तन भएतापनि पुरानै खरिद ऐनबाट चल्नुपर्दा विकास निर्माणको काम प्रभावकारी रुपले हुन नसकेको बताएका हुन्।
जसका लागि चाँडै समय अनुकुल नयाँ खरिद ऐन आउने बताए। उनले भने,‘विकास निर्माणको सवालमा कुरा गर्दा धेरै वर्ष अगाडि ऐन बन्यो। समय र परिस्थिति धेरै परिवर्तन भइसक्यो। तर पुरानै अवस्थाको खरिद ऐन हामीले बोक्नुपरेको छ। त्यसैबाट हामी चल्नुपरेको छ। त्यसले पनि समस्या उत्पन्न गरेको छ। यो विषय मन्त्रिपरिषद्सम्म पुगेको छ। अब नयाँ खरिद ऐन आउँछ। समयानुकुल र समसामयीक सन्दर्भलाई सम्बोधन गर्नेगरी ऐन चाँडै संसदमा पेस गर्नेछौँ।’
उनले सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन अहिले संशोधनको प्रक्रियामा रहेको भन्दै कानुनलाई नयाँ रुपमा अगाडि बढाउने जानकारी दिए। सवारी लाइसेन्स, यातायात व्यवसायीहरुको सवाल जस्ता तमाम समस्या सम्बोधन हुनेगरी चाँडै ऐन ल्याउने मन्त्री ज्वालाले प्रतिबद्धता जनाए।































प्रतिक्रिया